शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पहिरोले पुरिएका सिन्धुलीका घिसिङ १४ घण्टापछि सकुशल भेटिए

बुधवार , श्रावण २४, २०८०

सिन्धुली – मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना सकुशल भेटिएका छन् । सकुशल भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिनु भएको छ ।

वाइवका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा उद्धार गरिएको हो । उहाँ पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । पहिरोले पुरिँदा अक्कलबहादुरकी पत्नि सन्तमाया स्याङ्तानको मृत्यु भएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले जानकारी दिनुभयो ।

स्याङ्तानसहित उहाँकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

सोमवार राती देखिको अविरल वर्षाको कारण बागमती खोला, मरिण खोला, क्यानखोला, कोखाजोर खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी हुनुको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने हुँदा उच्च सतर्क अपनाउन वाइवाले आग्रह गर्नुभयो ।

 

खोलाबीचको बगरमा भेटिएका थिए घिसिङ

पहिरोमा हराएका घिसिङलाई १४ घण्टापछि प्रहरीले बागमती खोलाको बगरमा फेला पारेको थियो । घटनास्थलबाट करिब ७ किलोमिटर तल (पूर्व दक्षिणमा) घिसिङ भेटिएका थिए । उनलाई बोकेर बागमती पुलसम्म ल्याइ एम्बुलेन्स मार्फत् उपचारका लागि हेटौंडा पठाइएको एक प्रहरी कर्मचारीले बताए । प्रहरीले साँझ ७ बजेको समयमा उनको उद्धार गरेको ती प्रहरीको भनाइ छ ।

‘खोलाको बीचबाट एक जनाको उद्धार गर्न सफल भएका छाैँ । बागमती गाउँपालिकाको बगरे भन्ने स्थानमा बागमती खोलाको छालले फालेको पाखामा उनलाई भेटिएको थियो । घटनास्थलबाट उद्धार गरिएको स्थान करिब ७ किलोमिटर पूर्वदक्षिण तर्फ पर्दछ,’ उनले भने, ‘पहिरोमा हराएका ती युवकलाई खोलाले बगाएर त्यहाँसम्म पुर्‍याएको र खोलाको बीच भागमा रहेको बगरको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरिएको हो ।’

खोलाको बगरमा अड्किएको अवस्थामा स्थानीयले घिसिङलाई देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी पुगेर स्थानीयको सहयोगमा घिसिङको उद्धार गरिएको उनले बताए । ‘सो खोलामा नियमित आवतजावत गर्ने भनेको स्थानीय नै हुन्, उनीहरुको सहयोग बिना उद्धार कार्य सम्भव थिएन,’ उनले भने

मकवानपुर र सिन्धुलीको सीमानामा रहेको बागमती पुलबाट घटनास्थल १३ किलोमिटर उत्तरतर्फ अवस्थित छ भने बागमती गाउँपालिकाको केन्द्र झुरझुरेबाट बागमती पुलसम्मको दुरी करिव ५ किलोमिटर छ । उद्धारका लागि खटाइएका प्रहरी झुरझुरेमा सवारीसाधन राखेर घटनास्थलसम्म पुगेका थिए । उद्धार समाग्रीसहित प्रहरीहरु घटनास्थलसम्म पैदल पुगेका थिए ।

बिहान १०ः३० बजे हेटौंडाबाट हिँडेको उद्धार टोली साँझ ६ बजेमात्र घटनास्थल पुगेको थियो । ‘सडकमा निकै पहिरो खसेको छ । पैदल हिँड्नसमेत कठिन हुने अवस्था छ । अत्यन्त संघर्षपूर्ण तवरले प्रहरी घटनास्थलसम्म पुगेको थियो,’ ती प्रहरी कर्मचारीले भने ।

प्रतिक्रिया