बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको पानीको परिक्षण गर

आइतवार , श्रावण २१, २०८०

सिन्धुलीको कमलामाई नगरपालिकाको केहि वडामा खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता समितिले दुषित पानी आपूर्ति गरेको तथ्य फेला परेको छ । झण्डै एक दशक देखि कमलामाई नगरपालिकास्थित वडा नम्बर ४, ५, ६ र ७ मा खानेपानी आपुर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी समितिले किरामिश्रित दुषित पानी उपभोक्ताको घरघरमा पठाइरहेको अवस्था छ । सिद्धेश्वरले पानी सहित रोगपनि आपूर्ति गरिरहेको उपभोक्ताहरुको गुनासो छ ।

उपभोक्ताले धारामा लेदो मिसिएको पानी आइरहेको गुनासो गर्दा हरेक वर्ष वर्खायामलाई दोष देखाएर समितिका पदाधिकारी पन्छिने गरेका छन् । मान्छेको स्वास्थ्य जस्तो संवेदनिशल विषयमा खानेपानी समितिको लापर्वाहीले गर्दा आगामी दिनमा रोग फैलिन नसक्ला भन्न सकिन्न । तसर्थ, जिल्लास्थित जनस्वास्थ्य कार्यालय, स्थानिय सरकार, खानेपानी उपभोक्ता समिति लगायत जिम्मेवार निकायले पानीको परिक्षण गर्नतर्फ गम्भिर हुुन जरुरी छ ।

पछिल्लो समय पानीमा दिशामा देखिने किरा फेला परिरहेको छ । जिल्लाको कमलामाई र दुधौली नगरपालिका, मरिण, सुनकोशी लगायत नौँवटै स्थानिय तहमा पानीमा ‘गुु किरा’ फेला परेको स्थानियले बताउदैँ आएका छन् । स्याङ्जा, धरान लगायतका जिल्लामा पानीमा कोलीफर्म भेटिएको खबरहरु सार्वजनिक भइरहेको छ । ती जिल्लामा पानीका विभिन्न श्रोतहरुमा ‘कोलीफर्म’ भेटिएको छ । अर्थात् ती जिल्लाका नागरिकले पिउने भनेको पानीमा दिसा मिसिएको छ भनेको हो । सबैभन्दा बढी इनारको पानी, त्यसपछि धाराको पानी, ट्यांकरको पानी, मेलम्चीको पानी र जारको पानीमा फेकल कोलीफर्म भेटिएको भनिएको छ ।

स्याङजना र धरानमा जस्तै सिन्धुलीका पानीमा पनि कोलीफर्म नहोला भन्न सकिन्न । तसर्थ, जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, जिल्लामा संचालित निजि पानी फ्याक्ट्रीले कस्तो पानीको प्रयोग गरिरहेका छन् भन्नेतर्फ पनि जिम्मेवार निकायको ध्यान केन्द्रित हुन जरुरी छ ।

 

प्रतिक्रिया