सिन्धुलीमा यातायात व्यवसायीले स्थानिय रुटमा आफूखुशी भाडा लिएको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको भित्रि सडकहरुमा सरकारी निकाय, यातायात कार्यालयले तोकेको भाडाभन्दा चर्को भाडा लिएको भन्दै यात्रुहरुले दुखेसो व्यक्त गर्ने गरेका छन् । जिल्लाका स्थानिय रुटमा संचालन हुने साना तथा ठूला गाडीले एकनाशको भाडा नलिएको सरोकारवाला निकायले बताउदै आएका छन् । त्यस्तै, भित्रि सडकमा वर्षौँ पुराना सवारीसाधन संचालन हुँदा यात्रुहरु त्रसित बन्ने गरेका छन् । ग्रामीण सडकमा गुड्ने सवारीसाधन पुराना र थोत्रो भएकाले यात्रा गर्न जोखिम हुने गरेको यात्रुहरुको चिन्ता छ । यात्रु बोक्ने साधन मात्र नभएर सरसामान बोक्ने गाडीहरुले समेत चर्को भाडा लिने गरेका छन् ।
त्यस्तै, निजि गाडीले सार्वजनिक गाडी जसरी यात्रु ओसारपसार गर्दा यातायात व्यवसायी चिन्तित भएका छन् । तसर्थ, यातायात क्षेत्रमा देखिएको बेथितिमाथि अंकुश लगाउन जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । यतिमात्र नभएर, ठाउँठाउँमा रहेको प्रहरी चेकप्वोइन्टमा हरेक पटक गाडी ओहोरदोहोर गर्दा सुक्ष्म तरिकाले निगरानि बढाउनुपर्ने देखिन्छ ।
सिन्धुलीमा वर्षेनि सडक दुर्घट्नामा ५० भन्दा बढिले ज्यान गुमाइरहेको तित्तो तथ्यांक छ । सडकलाई सुरक्षित बनाउन राज्यको संयन्त्र गम्भिर हुनुपर्दछ । त्यस्तै, यात्रुलाई ठगिनबाट जोगिन नियमनकारी निकायले अनुगमनलाई तिव्रता दिन आवश्यक छ । अतः यातायात व्यवसायी र यात्रुको समस्यालाई ख्यालमा राखि जिम्मेवार पक्षले समाधानको बाटो खोज्न विशेष ध्यान दिन जरुरी छ ।