सिन्धुलीका स्थानिय तह जनप्रतिनिधिकालागि आफन्त भर्ति केन्द्र बन्दै गएको छ । विज्ञापननै प्रकाशन नगरी आधारभुत प्रक्रियासमेत मिचेर जिल्लाका स्थानिय तहमा कर्मचारी भर्ति गर्ने क्रम रोकिएको छैन । शिक्षक नियुक्ति देखि करारमा कर्मचारी भर्ति गर्न जनप्रतिनिधिले हस्तक्षेप गर्ने गरेको अधिकारप्राप्त कर्मचारीहरुको गुनासो छ । केहि जनप्रतिनिधिले आफूले इच्छाएको व्यक्तिलाई जागिर दिन प्रक्रिया मिच्ने र आफूले भनेको कुरा पुरा नभएर कर्मचारीमाथिनै जाई लाग्ने गरेको विगतका घट्नाहरुले देखाउँछ ।
केन्द्र र प्रदेशबाट प्राप्त हुने बजेटमा कटौति हुँदा स्थानिय सरकारको आर्थिक अवस्था कमजोर छ । स्थानिय तहले आर्थिक अवस्थालाई देखाएर भुक्तानिनै नगरेको समेत व्यवसायीले बताउने गरेका छन् । त्यसैगरि, कर्मचारीले समेत तलब नपाएको अवस्था छ । यता, स्थानिय सरकारले भने करारका कर्मचारी भटाभट नियुुक्ति गरेर स्थानिय तहलाई आर्थिक भार थपिरहेका छन् ।
वडादेखि पालिकासम्म जनप्रतिनिधिले आफ्ना नातागोता, कार्यकर्ता, इष्टमित्र लगायत आसेपासेलाई रोजगारी दिएको अवस्था छ । तसर्थ, रोजगारीको नाममा स्थानिय तहलाई आफन्त भर्ति केन्द्र हुन नदिन प्रमुख प्रशासयिक अधिकृत लगायत जिम्मेवार व्यक्तिले आवाज उठाउन जरुरी छ । अन्यथा, स्थानियले तिरेको कर दुरुपयोग हुनु बाहेक स्थानिय तहमा उपलब्धि केहि देखिनेछैन भन्दा कुनै अत्युक्ति हुदैँन । अतः आवश्यकता अनुसार रितपुर्वक कर्मचारी भर्ति गर्नतर्फ स्थानिय तह लगायत सरोकारावाला निकाय गम्भिर हुन जरुरी छ ।