बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा वित्तिय सुशासन कायम गर

मंगलवार , आषाढ २६, २०८०

गत आर्थिक वर्ष २०७८/०७९ मा वित्तिय सुशासन जोखिम मुल्यांकन तथा संस्थागत क्षमता मुल्यांकनमा सिन्धुलीका स्थानिय तह कमजोर देखिएको तथ्यांकले देखाएको छ । योजनाको सान्दर्भिकता, प्राथमिकता निरुपण, खर्चको गुणस्तर, सेवा व्यवस्थापनमा नागरिक भावनाको सम्बोधन, निर्णयको पारदर्शिता र वित्तीय कारोबारमा नागरिक संलग्नतामा जिल्लाका स्थानिय तहको भुमिका कमजोर देखिएको छ । स्थानिय सरकार संचालन ऐन, सार्वजनिक खरिद ऐन लगायत आधारभुत कानुनका बारेमा जनप्रतिनिधिको अपर्याप्त ज्ञानका कारण वित्तिय सुशासन कायम चुनौति बन्दै गएको छ ।

देशमा संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार पुगेपनि राजनैतिक स्वार्थका आधारमा हुने निर्णयले स्थानिय सरकालाई कमजोर बनाउदैँ गएको छ । सरकारको प्रतिनिधि र जनप्रतिनिधिबिच बढ्दो स्वार्थपुर्ण सम्बन्धका कारणपनि वित्तिय सुशासन कायम गर्न मुश्किल भएको अध्ययनले देखाएको छ । तसर्थ, जिल्लाका स्थानिय तहमा देखिएको वित्तिय समस्यालाई न्युनिकरण गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।

जिल्लाका स्थानिय तहको लगानीमा उपभोक्ता समितिबाट भएका कामहरु सन्तोषजनक नभएको गुनासो बढ्दो छ । आफू नजिकका आसेपासे, कार्यकर्ता तथा आफन्तको नेतृत्वमा उपभोक्ता समिति गठन गर्नेदेखि लाखौँको ठेक्का कानुनविपरित निश्चित व्यक्ति र समूहलाई सुम्पिने क्रम स्थानिय तहमा रोकिएको छैन । तसर्थ, जिल्लाका स्थानिय तहमा देखिएको बढ्दो बेथितिको अन्त्य गर्न राजनैतिक दल, नागरिक समाज लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । त्यस्तै, वित्तिय कारोबारमा छोटो बाटो अपनाएर गरिने निर्णयको विरोध गर्न स्थानिय स्वयं सक्षम हुन आवश्यक छ । अतः जिल्लामा वित्तिय सुशासन कार्यम गर्न जिम्मेवार निकाय सचेत हुनुपर्दछ ।

प्रतिक्रिया