पछिल्लो समय सिन्धुलीबाट निर्वाचित सांसद मुलधार मिडियाको हट केक बनिरहेका छन् । ‘पशुपतिको जलहरी’ देखि भ्रष्टाचारका ठूला मुद्धाहरुका विषयमा जोडदार आवाज उठाएर सिन्धुलीका सांसद पार्टीको नेतृत्व र संचारमाध्यमको आँखामा परिरहेका छन् । तर, जहाँबाट निर्वाचित भएको हो, त्यहि ठाउँको मुद्धामा सांसदहरु मौन बस्दा मतदाताहरु निराश देखिएको अवस्था छ । जिल्ला अस्पताल सिन्धुलीको सुविधासम्पन्न भवन निर्माणमा देखिएको समस्यालाई कुनैपनि जनप्रतिनिधिले चासो दिएका छैनन् । भ्याट बाहेक कुल २१ करोड ९८ लाख ३७ हजार ८ सय १३ रुपैँयामा आधुनिक र सुविधा सम्पन्न अस्पताल भवन निर्माण भइरहदा अस्पतालकै जग्गामा निर्माण गरिएको संरचनाले बाधा पुर्याइरहेको छ ।
तत्कालिन जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालकै जग्गामा २२ वटा सटरसहितको भवन निर्माणकालागि अनुमति दिएको थियो । ती सटर निर्माण भएर संचालनमा आएको वर्षौँ बितिसकेको छ र लगानिकर्ताले भाडा शुल्कबाट लगानीपनि उठाइसकेको अवस्था छ । तर, ती सटर भत्काउन कुनैपनि जनप्रतिनिधिले आवाज उठाएका छैनन् । ती सटर नभत्काउँदा गुरुयोजना अनुसार अस्पताल भवनको संरचना निर्माण गर्न समस्या परेको ठेकेदार कम्पनिले बारम्बार गुनासो गरिरहदा समेत यहाँका जनप्रतिनिधि चुइक्क नबोल्दा मतदाता आक्रोशित बनेका छन् । केन्द्रको राजनितिमा पकड राख्न ठूला मुद्धा उठाउने सांसदले जिल्लाकै जल्दोबल्दो समस्यालाई नजरअन्दाज गर्दा नजिकको तिर्थ हेला भएजस्तै महशुश भएको मतदाताले बताउने गरेका छन् । केन्द्रमा चहलपहल दिन सक्ने सांसदले जिल्लाका व्यवसायप्रिति नरम भएर मुख्य मुद्धामा मौन बस्नु दुर्भाग्य हो । तसर्थ, सिन्धुलीबाट निर्वाचित जनप्रतिनिधिले सिन्धुली अस्पतालको संरचना निर्माणमा देखिएको समस्यालाई समाधान गर्नतर्फ विशेष जोड दिन आवश्यक छ ।
सिन्धुली अस्पतालको संरचना निर्माण गरिरहेका ठेकेदार कम्पनिले अस्पतालको क्षेत्रमा निर्माण भएको अवैद्य संरचनाले गुरुयोजना अनुसार संरचना निर्माण गर्न कठिनाई भएको बताइरहेको छ । तसर्थ, यहाँका सरोकारवाला निकायले ठेकेदार कम्पनिलाई गुरुयोजना अनुसार संरचना निर्माण गर्न वातावरण सिर्जना गर्नुपर्छ । अतः देशको जल्दोबल्दो मुद्धामा आवाज उठाउनु गलत नभएपनि जहाँबाट निर्वाचित भएको हो त्यहिको मुद्धालाई नगरअन्दाज गर्नु मतदाताको मतको अपमान हो भन्ने सम्बन्धित निकायले बुझ्न आवश्यक छ ।