बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एसइई नतिजाको समिक्षा गर

आइतवार , आषाढ २४, २०८०

शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार सिन्धुलीमा माथिल्लो ग्रेड भन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या बढ्दो छ । शुक्रबार प्रकाशित नतिजा अनुसार सिन्धुलीमा सि प्लस ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै छ । सि प्लस ल्याउनेको संख्या एक हजार चार सय ३२ रहदा ए प्लस ल्याउने विद्यार्थी जम्मा दुई सय ९६ रहेको छ । संविधानतः माध्यमिक शिक्षा सम्मको जिम्मेवारी र अधिकार स्थानीय सरकार मातहत व्यवस्था गरिएको छ । शैक्षिक सुधारमा स्थानिय सरकारको भुमिका अहम हुन्छ । तर, जिल्लाका स्थानिय तहले शिक्षालाई बजेटमा मात्र प्राथमिकता दिएको अवस्था छ । शिक्षा क्षेत्रको सुधारमा स्थानिय तहको व्यवहारिक पक्ष भने कमजोर देखिदैँ आएको छ । तसर्थ, जिल्लाका नौँवटै स्थानिय तहले एसइई नतिजाको समिक्षा गर्दै गुणस्तरीय शिक्षाकालागि विशेष कार्यक्रम संचालन गर्न जरुरी छ ।

निजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसइई नतिजा कमजोर देखिएको छ । राज्यले वर्षेनि सामुदायिक विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तरीयताकालागि करोडौँ खर्च गरेपनि अपेक्षा अनुसार शिक्षा क्षेत्रमा सुधार देखिएको छैन । तसर्थ, जिल्लाका स्थानिय तह अन्तर्गत शिक्षा शाखाको कार्यशैलिलाई थप व्यवस्थित र चुस्त बनाउन जनप्रतिनिधिले निगरानि बढाउन आवश्यक छ । त्यसैगरि, शिक्षा विकास तथा समन्वय इकाईले जिल्लामा शिक्षा क्षेत्रको सुधारकालागि स्थानिय तहसँग समन्वय गरि अघि बढ्न जरुरी छ । अतः एसइईको नतिजालाई गम्भिरतापुर्वक समिक्षा गरि शिक्षाको गुणस्तरीयता कायम गर्न जिम्मेवार निकायले सक्रियता बढाउन आवश्यक छ ।

 

 

प्रतिक्रिया