सिन्धुलीमा संचालित अधिकांश बैंकको सेवासुविधाप्रति सेवाग्राही असन्तुष्ट छन् । बैंकले सेवासुविधा विस्तार र व्यवस्थापनमा बेवास्था गरेको भन्दै सेवाग्राही आक्रोशित बनेका छन् । जिल्लाको सदरमुकाममै रहेका बैंकले समेत सेवाग्राहीको सेवासुविधामा कुनै चासो नदिएको आरोप खेप्दै आएका छन् । मुख्यतः बैंकहरुले एटिएम सुविधालाई सरल नबनाएको सेवाग्राहीको गुनासो छ । एटिएम बिग्रदा समेत हप्तौँसम्म मर्मत नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ भने चर्को शुल्कपनि तिर्नुपर्ने बाध्यता छ । जिल्लामा संचालित बैंकले वर्षेनि करोडौँको आम्दानि गरिरहेका छन् । तर, सेवासुविधा विस्तार भन्दा ग्राहक बढाउने दौडमा बैंक लागिपरेको अवस्था छ । ग्राहक बढाउन घरघरमा कर्मचारी खटाउने बैंकले सेवा दिन भने कञ्जुस्याई गरिरहेका छन् ।
सिन्धुलीमाढीमा सामाजिक सुरक्षा भत्ता देखि पेन्सनको रकम झिक्न गाउँगाउँबाट सेवाग्राही आउने गर्दछन् । तर, सदरमुकाममै बैंकको सेवा सन्तोषजनक नहुँदा ग्राहक रित्तो हात फर्किनुपर्ने बाध्यता छ । यतिमात्र नभएर प्रविधिको युगमा समेत सेवाग्राहीहरु अफिस समय कुरेर रकम झिक्नुपर्ने बाध्यात्मक अवस्थामा छन् । तसर्थ, जिल्लामा संचालित बैंकको सेवा सुविधा विस्ता र व्यवस्थापनकालागि नियमनकारी निकायले निगरानि बढाउन जरुरी छ । अतः बैंकले ग्राहकको संख्या बढाउनमात्र केन्द्रित नभई सेवा दिन समेत समय खर्चिन आवश्यक छ ।