बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

युवालाई स्वदेशमै आकर्षित गर

शुक्रवार , आषाढ २२, २०८०

चालु आर्थिक वर्ष २०७९/०८० को तथ्यांक अनुसार दैनिक सिन्धुलीका २७ युवाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट राहदानी लिएका छन् । चालु आर्थिक वर्षको असार २० गते सम्म ९ हजार ५ सय ९४ जनाले राहदानी लिँदै गर्दा झण्डै ७५ प्रतिशत बढिले वैदेशिक रोजगारीकालागि राहदानि बनाएको तथ्यांक छ । केहि प्रतिशतले भने उच्च शिक्षाकालागि राहदानि बनाएको पाईएको छ । स्वदेशमै रोजगारीको अवसर सिर्जना नहुँदा दैनिक जिल्लाका युवाहरु विदेशीने गरेका छन् । पहुँचको आधारमा रोजगारी, आफन्त तथा कार्यकर्तालाई राज्यको लोककल्याणकारी सुविधा, अनुदान, सिमित कलकारखाना, कम आम्दानी, असुरक्षा लगायत विविध कारणले गर्दा यहाँका युवाहरुले स्वदेश छाडिरहेको अवस्था छ ।

देशमा संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार आएपनि सिमित व्यक्तिले राज्यको सेवा, सुविधामा मोजमस्ती गरिरहेका छन् । स्थानिय तहमा आफ्ना नजिकका नातेदार, कार्यकर्तालाई गुपचुपमा भर्ति गर्ने, सिप र शिक्षालाई प्राथमिकता नदिने, कमिशनको खेलमा जागिर दिने लगायत विविध गैरकानुनि कार्य भइरहेको छ ।

सरोकारवाला निकायले आवाज नउठाउँदा र स्थानिय सरकार सच्चिन नचाहदाँ युवाहरु विरक्तिएर विदेशिन बाध्य छन् । स्थानिय तहमात्र नभएर गैरसरकारी संघसंस्थामा समेत पहुँचको आधारमा कर्मचारी र्भिर्त भइरहेको छ । जसको प्रत्यक्ष मारमा शिक्षित युवाहरु परिरहेका छन् । तसर्थ, जिल्लामा रोजगारीको अवसर सिर्जना गर्नुका साथै क्षमतावान् उम्मेदवारलाई रोजगारी दिन रोजगारदाताहरु केन्द्रित हुन जरुरी छ ।

युवा विदेश पलायनको समस्याले मलामीमा समेत मान्छे गुहार्नुपर्ने अवस्था छ । विदेश पलायनको भयावह अवस्थाले समाजमा नकारात्मक असर पुर्‍याउनुका साथै देशलाई नै ठूला घाटा भइरहेको छ । तसर्थ, स्वदेशमै रोजगारी सिर्जना गर्न राज्यको संयन्त्र गम्भिर हुन जरुरी छ । त्यसैगरि, पहुँचको आधारमा भन्दा पनि शिप, शिक्षा र क्षमताको आधारमा रोजगारी दिन रोजगारदाता गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया