बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

योजनाको अनुगमन गर

बुधवार , आषाढ २०, २०८०

सिन्धुलीका स्थानिय तहले हरेक आर्थिक वर्षमा करोडौँको योजनामा काम गर्ने गर्दछ । स्थानिय तहको लगानीमा बाटो, खानेपानी, सामुदायिक भवन लगायतका संरचनाहरु निर्माण गरिएको छ । तर, योजनाको अनुगमन नहुँदा गुणस्तरहिन काम भइरहेको गुनासो बढ्दो छ । सिन्धुलीमा निर्माण सम्पन्न भएका योजनाहरुप्रति सर्वसाधरणले गुनासो गरिरहेका छन् । उपभोक्ता समिति मार्फत भएका केहि योजनाहरुको गुणस्तरीयतामा प्रश्न उठिरहेको छ । त्यसैगरि, केहि योजनाहरु भने समितिको लापर्वाहीकै कारण पनि गुणस्तरहिन भएको गुनासो आएको छ । पछिल्लो समय स्थानिय तहमा विकास निर्माणको कामले तिव्रता पाएको छ । करोडौँको बजेट विकास निर्माणमा खर्च गरिएको छ । स्थानिय तहले निरन्तर योजनाहरुको अनुगमन गर्ने हो भने गुणस्तर काम हुनेमा नागरिक विश्वसत छन् । तर, अनुगमन गर्न स्थानिय तहले कञ्जुस्याँई गर्दै आएको छ । त्यसैगरि,उपभोक्ता समितिको लापर्वाहीमा पनि स्थानिय तहले कानमा तेल हालेर बसेको अवस्था छ ।

तसर्थ, स्थानिय तहले अनुगमनलाई तिव्रता दिदैँ लापर्वाही गर्ने समितिलाई सजग गराउँदै आवश्यक परेको अवस्थामा कार्वाही गर्न पनि पछि हट्नु हुदैँन । स्थानिय सरकारले पूर्वाधार निर्माणकालागि करोडौँ रकम खर्च गरिरहेको छ । निर्माण भएका ती सम्पत्तिहरुमा हरेक सर्वसाधरणको हक लाग्छ । सार्वजनिक सम्पत्तिको निर्माणका बखत स्थानियले पनि चासो देखाउन जरुरी छ । गुणस्तर काम नभएको खण्डमा सम्बन्धित निकायमा उजुरी वा गुनासो पनि गर्न सकिन्छ । समुदायले सार्वजनिक सम्पत्ति निर्माणका क्रममा निगरानि गर्ने हो भने दिगो र गुणस्तरीय निर्माणमा सम्झौता हुने थिएन । विकास निर्माणको कामको अनुगमन गर्न स्थानिय तहदेखि नागरिक पनि सचेत हुन आवश्यक छ । अतः अधिकारप्राप्त स्थानिय तहले योजनाको अनुगमनलाई तिव्रता दिन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया