बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा अनियमित विद्यूत आपूर्ति किन ?

मंगलवार , आषाढ १९, २०८०

सिन्धुलीमा अनिर्धारित विद्युत कटौति सधैँको समस्या हो । अनियमित विद्युत आपूर्तिले उपभोक्तालाई सास्ती बनाएको छ । विद्युत नहुँदा सर्वसाधारणको काम रोकिएको मात्र छैन, संचार संस्था, उद्योग व्यवसायमा प्रत्यक्ष असर परिरहेको छ । मिनेट मिनेटमा जाँदै आउँदै गर्ने विद्युतले सर्वसाधरण हैरानीमा परेको सेवाग्राहीले गुनसो गरेका छन् । पानी पर्दा वा चट्याङ लाग्दा विद्युत प्रवाह गर्न असहज परिस्थीति उत्पन्न हुनु स्वभाविक हो । तर, सिम्सिमे पानी पर्दा समेत सिन्धुलीमा विद्युत आपूर्तिमा समस्या देखिने गरेको छ । वर्षौँदेखि नियमित विद्यूत सेवा नपाउनुको कारणकाबारेमा उपभोक्ताले जानकारी पाउदैँनन् । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण शाखाले औपचारिक रुपमा कहिल्यैपनि अनियमित विद्युत आपूर्तिका बारेमा उपभोक्तालाई जानकारी गराएको छैन । तसर्थ, उपभोक्तालाई के कारणले विद्युत कटौति भइरहेको छ भन्ने जानकारी दिन सिन्धुली वितरण शाखा गम्भिर हुन जरुरी छ ।

सिन्धुलीमा जडान गरिएको विद्युतिय संरचना कमजोर भएकै कारण सिम्सिमे पानी पर्दा समेत विद्युत कटौति हुने गरेको इन्जिनियरहरुले बताउने गरेका छन् । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण शाखाले जडान गरेका संरचना साच्चिकै कमजोर छ कि अन्य केहि कारणले विद्युत कटौति भइरहेको छ भन्ने जानकारी उपभोक्ताले पाउनुपर्छ । त्यसैगरि, प्राविधिक पक्षलाई मात्र देखाएर समस्याबाट पन्छिन मिल्दैन । विद्युत प्राधिकरणका कर्मचारीले दिनरात नभनि विद्युत आपूर्ति गर्न खटिएका छन् । तर, नेतृत्वमा रहेका कर्मचारीले अनियमित विद्युत कटौतिको दिर्घकालिन समाधान नखोजेसम्म समस्या ज्यूँको त्यु हुने देखिन्छ । अतः अनियमित विद्युत आपूर्तिका बारेमा उपभोक्तालाई औपचारिक जानकारी दिन र विद्युत कटौतिको दिर्घकालिन समाधान खोज्नतर्फ जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ ।

 

प्रतिक्रिया