बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अस्पताल व्यवस्थापनमा गम्भिर बन

सोमवार , आषाढ १८, २०८०

सिन्धुली अस्पतालमा दैनिक बिरामीको चाप बढ्दो छ । नयाँ भवन निर्माणाधिन अवस्थामा रहेकाले वैकल्पिक संरचनाको निर्माण गरेर सिन्धुली अस्पतालले सेवा दिदैँ आएको छ । तर, बिरामीको चापलाई मध्यनजर गर्दै अस्पताल व्यवस्थापन समितिले उचित सेवा दिन सकिरहेको छैन । अस्पतालभित्रका संरचनाहरु जोखिमयुक्त छन् । रगत, पिसाब, दिसा, खकार लगायत स्वाबको परिक्षण गर्न ल्याबसम्म पुग्दा लडिने हो कि भन्ने जोखिम रहेको बिरामीले गुनासो गर्दै आएका छन् । ल्याब जाने बाटोमा रेलिङ नहुँदा वृद्धवृद्धा, सुत्केरी, बालबालिका लगायत अपांग भएका व्यक्तिहरु डराईडराई हिँड्नुपर्ने अवस्था छ । ल्याब भएको भवन साँघुरो ठाउँमा हुँदा बिरामीले सास्ती व्यहोर्नु परिरहेको छ । यतिमात्र नभएर पर्याप्त जनशक्ति नहुँदा बिरामीहरु घण्टौँसम्म जोखिम मोलेर लाईन बस्नुपर्ने बाध्यता छ । इमरजेन्सिका बिरामीदेखि सुत्केरी, वृद्धवृद्धा, बालबालिका लगायत अशक्त व्यक्ति र साधारण बिरामीले एउटै लाईनमा बसेर स्वास्थ्य परिक्षण गर्नुपरिरहेको छ । यता, अस्पताल व्यवस्थापन समितिले बिरामीको चापलाई बेवास्था गर्दै आल्टालमै अस्पताल संचालन गरिरहेको छ । निर्माणाधिन संरचनाका कारण सेवा प्रवाहमा असहज हुनु स्वभाविक हो । तर, व्यवस्थापन समितिले बिरामीको सुरक्षा र सेवा प्रवाहमा न्युनतम व्यवस्थापकिय पक्षलाई समेत ख्याल नगरेको अवस्था छ ।

तसर्थ, सिन्धुली अस्पतालको व्यवस्थापन पक्षलाई मजबुत बनाउन सरोकारवाला निकायले निगरानि बढाउन जरुरी छ । त्यसैगरि, नियमनकारी निकायले सिन्धुली अस्पतालको व्यवस्थापन पक्षलाई सुदृढ गर्नतर्फ पहल गर्नुपर्दछ । त्यस्तै, बिरामीको चाप हुने शाखादेखि टिकट काट्ने लाईनमा बिरामीलाई सास्ती हुन नदिन जनशक्तिको उचित परिचालनमा व्यवस्थापन समितिले विशेष ध्यान दिन आवश्यक छ ।

अतः सिन्धुली अस्पताललाई सुरक्षित बनाउन घेराबेरादेखि रेलिङ जडान गर्न र निर्माणाधिन संंरचनाका कारण कुनै अप्रिय घट्ना हुन नदिन सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया