सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सहसचिवले हस्ताक्षर किर्ते गरि लाखौँ रकम निकाले । वन उपभोक्ता समितिका कोषाध्यक्ष र सचिव समेतको हस्ताक्षर गरि ती अध्यक्षले राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीबाट लाखौँ रकम निकालेको पिडितहरुको गुनासो छ । कानुनी उपचारकालागि उपभोक्ता समितिको टोली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी धाउन लागेको झण्डै दुई हप्ता हुन लागिसकेको छ । उनीहरुको समयसँगै पैसापनि खर्च भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराउन जिल्ला अदालत सिन्धुलीमा रहेको लेखनदासले पिडितसँग दुई हजार रुपैँया लिएर एक पाना निवदेन लेखिदिएका छन् । हस्ताक्षर किर्ते गरि पैसा निकालिएको घटना दर्ता गराउन पिडितहरु जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दैनिक धाउने गर्छन् । प्रहरीले किर्तेको मुद्धा प्रहरीले नहेर्ने भन्दै जाहेरिनै दर्ता गर्न मानेकै छैनन् । आफ्नो क्षेत्राधिकार भित्र किर्ते मुद्धा हेर्न नमिल्ने भन्दै पन्छिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उक्त वन उपभोक्ता समितिको अध्यक्ष र सहसचिवलाई बोलाएर छलफल भने गरिरहेको छ । आठ वर्षअघि एक सामुदाकिय वन उपभोक्ता समितिमा हस्ताक्षर किर्ते भएको भन्दै जिल्ला प्रहरी कार्यालयलेनै जाहेरि दर्ता गरि कानुनि प्रक्रिया अघि बढाएको नजिर भएपनि हरिहरपुरगढीको घट्नामा प्रहरी नरम देखिएको हो ।
पिडितले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पनि उजुरी दर्ता गरेको छ । साथै, सिन्धुली प्रशासनले प्रहरी कार्यालयलाई सम्बोधन गरि निवेदननै पठाइसकेको अवस्थामा प्रहरीले कानुनि प्रक्रिया अघि नबढाउँदा पिडित पक्ष गुमारहमा परेका छन् । आम नागरिकले कानुनि ढोका ढक्ढकाउँदा गुमराहमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन जरुरी छ । त्यसैगरि, राज्यको संयन्त्रसँग कानुनि उपचार खोज्न आइसकेपछि न्याय दिलाउन ती संयन्त्रले सहजिकरण गरिदिन जरुरी छ । अतः न्याय महंगो साबित नबनोस् र किर्ते हस्ताक्षर गर्नेलाई कार्वाहीको दायरामा ल्याउन राज्यको संयन्त्रले पहल गर्नुपर्छ ।