सिन्धुलीका स्थानिय तहले नदिजन्य पदार्थ उत्खनन्, संकलन, बिक्री तथा ओसार पसारमा रोक लगाएको छ । वर्षातको समयमा बाढी पहिरो तथा भूक्षयको कारण आउने जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन, बिक्री तथा ओसारपसारमा स्थानिय तहले रोक लगाएको हो । तर, जिल्लामा अहिले पनि निर्वाध रुपमा नदिजन्य पदार्थको उत्खनन् भइरहेको छ । नदि क्षेत्रमा ट्रयाक्टरका लामलस्कर लाईन हुँदा पनि स्थानिय सरकारले रोकतोक नगरेको स्थानियले गुनासो गरेका छन् । नेपाल सरकारको एक प्रतिवेदनमा उल्लेख भए अनुसार सिन्धुली जिल्ला बाढी र पहिरोको जोखिममा छ । वर्षातको समयमा नदिजन्य पदार्थ उत्खनन् गर्दा बाढी, पहिरोको जोखिम बढ्छ । तर, स्थानिय सरकारको आँखै अगाढी व्यवसायीले निर्वाध रुपमा ढुंगा, गिट्टि, बालुवा उत्खनन् तथा ओसारपसार गरिरहेका छन् । तसर्थ, जिल्लाका स्थानिय तहले जनशक्तिको प्रयोग गरि अवैद्य उत्खनन्मा कडाई गर्नतर्फ विशेष ध्यान दिन जरुरी छ ।
जिल्लामा नौँवटै स्थानिय तहले नगरप्रहरी भर्ति गरेका छन् । स्थानिय तह आफू अनुकुलका मान्छे भर्ति गर्ने केन्द्र बनेको छ । आवश्यकता भन्दा बढि नगरप्रहरी भर्ति गरेको आरोप खेप्दै गरेको सिन्धुलीका स्थानिय तहले उनीहरुलाई प्रभावकारी काममा लगाउन जोड दिन जरुरी छ । स्थानिय तहले नगरप्रहरीलाई प्रयोग गर्नै नसकिरहेको अवस्थामा प्राकृतिक श्रोतको रक्षा गर्नतर्फ उनीहरुलाई खटाउन जरुरी छ । अतः सिन्धुलीमा अवैद्य रुपमा भइरहेको नदिजन्य पदार्थको अवैद्य व्यापारलाई रोक गर्न स्थानिय सरका, प्रहरी प्रशासन लगायत सरोकारवाला निकाय गम्भिर हुन आवश्यक छ ।