सिन्धुलीका स्थानिय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षालाई विशेष प्राथमिकता दिएका छन् । हरेक निति, कार्यक्रम र बजेटमा जिल्लाका स्थानिय तहले अन्य क्षेत्रभन्दा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेपनि जिल्लाको शिक्षा क्षेत्रमा आमुल परिवर्तन आउन सकिरहेको छैन । सिन्धुलीमा पाँच सय भन्दाबढि सामुदायिक विद्यालयहरु छन् । ती विद्यालयकालागि वर्षेनि करोडौँ बजेट छुटाईने गरिन्छ । तर, सामुदायिक विद्यालयका शिक्षकदेखि अभिभावक सन्तुष्ट हुन सकिरहेका छैैनन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयतामा सधैँ प्रश्न उठ्ने गरेको छ ।
माध्यमिक तहसम्मको शिक्षालाई स्थानिय तह मातहतमा राखिएपछि अभिभावकले शिक्षा क्षेत्रको विकास हुने अपेक्षा राखेका थिए । स्थानिय सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन नविनतम कार्यक्रमहरु संचालन गर्ने आश अभिभावकले गरेपनि उहिँ परम्परागत शिक्षण विधिबाटै पढाई भइरहेको छ । सरकारले शिक्षा क्षेत्रमा प्रविधि भित्राउन आईसिटि ल्याब देखि सूचना प्रविधिका विभिन्न कार्यक्रम संचालन गरेपनि ती कार्यक्रम आर्थिक अनियमितताको अखडा बनिरहेको छ । तसर्थ, जिल्लाको शिक्षा क्षेत्रको विकास गर्न स्थानिय सरकार गम्भिर हुन आवश्यक छ ।
शिक्षा क्षेत्रको विकासकालागि शैक्षिक गुणस्तरीयता मजबुत बनाउन जरुरी छ । विद्यालयका शिक्षक देखि व्यवस्थापन समितिलाई निगरानि गर्ने हो भने केहि हदसम्म शिक्षा क्षेत्रमा सुधार आउने देखिन्छ । त्यसैगरि, शिक्षकलाई उचित तलबको व्यवस्था र प्रोत्साहन गर्नतर्फ पनि स्थानिय सरकार गम्भिर हुन जरुरुी छ । अतः सामुदायिक विद्यालयमा देखिएको विकृतिको अन्त्य गर्न जिम्मेवार निकायले शुन्य सहिष्णुता अपनाउनुपर्दछ ।