बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बजेट कार्यान्वयनमा गम्भिर बन

मंगलवार , आषाढ १२, २०८०

सिन्धुलीका नौँवटै स्थानिय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरिसकेको छ । तीनै तहको सरकारले बजेट सार्वजनिक गरिसकेको अवस्थामा बजेट कार्यान्वयनको सवालमा नागरिक ढुक्क भएर बस्ने अवस्था छैन । किनभने, विगतको नजिरलेनै सिन्धुलीमा बजेट कार्यान्वयन नभएको स्पष्ट देखाएको छ । तसर्थ, आगामी बजेटको हुबहु कार्यान्वयनकालागि स्थानिय तहका जनप्रतिनिधिदेखि कर्मचारी र नागरिकपनि सचेत हुन जरुरी छ । सर्वप्रथम स्थानिय तहले कार्ययोजना बनाएर अघि बढ्नुपर्दछ । कार्ययोजना बमोजिम काम नभएमा दबाब दिन सक्ने वातावरण निर्माण गर्नुतर्फ राजनीतिक दल, नागरिक समाजका अगुवा, बुद्धिजीवी र संचारकर्मी सचेत हुन आवश्यक । यसरी आफूलाई आफैंले बाँध्ने कार्ययोजनाको घोषणा र ‘वाचडग’ को सक्रिय भूमिकामा लाभग्राही जनतालाई राख्नु नै सफलतापूर्वक बजेट कार्यान्वयन आरम्भ हुनु हो भनी स्थानीय सरकारले समयमै बुझ्नुपर्छ ।

त्यसैगरि, योजना कार्यान्वयनको चरणमा जान जुन–जुन प्रक्रिया बाँकी छ, तत् प्रक्रिया पूरा गर्ने दिन र जिम्मेवार पदाधिकारीले समीक्षा गर्नुपर्दछ । त्यस्तै, ठेक्का लागेको आयोजनाको पनि जिम्मेवारी (गोठालो) तोकिनुपर्छ । सामान्यतः ठेक्का लगाएपछि, उपभोक्ता समूहलाई जिम्मेवारी दिएपछि, टोल विकास संस्थालाई निकासा पठाएपछि काम सम्पन्न भएको ठान्ने प्रवृत्तिले स्थानीय सरकारहरू बजेट कार्यान्वयनमा असफल भएका हुन् । यथार्थमा, जसलाई कामको जिम्मेवारी दिए पनि त्यसको गोठालो नलागेमा काम बन्दैन भन्ने सामान्य हेक्का राख्न ढिला गर्नुहुँदैन । प्रत्येक स्थानीय सरकारले आफू संघ सरकार र प्रदेश सरकारबाट गरिने मूल्यांकनमा उत्कृष्ट ठहरिन्छु भन्ने हुटहुटीका साथ सकारात्मक प्रतिस्पर्धामा उत्रिनुपर्छ । यसै आधारमा दातृ निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज र पत्रकारिता क्षेत्रले पनि तत् पालिकाप्रतिको धारणा बनाउँछन् भन्ने दिव्य ज्ञान हासिल गर्न जरूरी छ । अतः अवरोधलाई निषेध गर्ने, नागरिक अनुगमन बढाऊने, कार्य सम्पादन सम्झौता गर्ने, कोशेढुंगा निक्रर्योल गर्ने, ऐनको हेक्का राख्ने लगायत बजेट कार्यान्वयनमा स्थानिय तह गम्भिर हुन आवश्यक छ ।

 

प्रतिक्रिया