बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

राजश्व संकलनमा समन्वयको आवश्यकता

सोमवार , आषाढ ११, २०८०

सिन्धुलीको स्थानिय तहका कर्मचारीले केन्द्र र प्रदेश सरकार मातहतको कार्यालयले राजश्व संकलनमा सहयोग नगरेको दुखेसो व्यक्त गरेका छन् । दहत्तर बहत्तर शुल्क अन्तर्गत स्थानिय तहमा संचालित प्रदेश र केन्द्रको योजनामा स्थानिय तहलाई राजश्व संकलन गर्न समस्या परेको छ । नौँवटा स्थानिय तह रहेको सिन्धुलीमा प्रदेश र केन्द्रका दर्जनौँ योजना संंचालन भइरहेको छ । योजना कार्यान्वयन भइरहेको सम्बन्धित स्थानिय तहबाट संकलित ढुंगा, गिटि, बालुवा, रोडाको प्रयोग गरेवापत ठेकेदार कम्पनिले स्थानिय तहलाई राजश्व बुझाउनुपर्ने हुन्छ । उक्त शुल्कको ६० प्रतिशत प्रदेशको कोषमा जम्मा हुन्छ भने अन्य ४० प्रतिशत स्थानिय तहको आन्तरिक आम्दानी हो । जिल्लामा प्रदेश र केन्द्र मातहतका दर्जनौँ कार्यालयबाट करोडौँ रुपैँयाको योजनाहरु धमाधम संचालन भइरहेको छ । तर, दहत्तर बहत्तर शुल्क उठ्न सकेको छैन ।

स्थानिय तहले प्रदेश र केन्द्र मातहतका कार्यालयलाई उक्त राजश्व संकलनमा सहयोग गरिदिन बारम्बार ताकेता गरेपनि ती कार्यालयले कुनै कदम चालेका छैनन् । प्रदेश र केन्द्र मातहतका कार्यालयले दहत्तर बहत्तर शुल्क कटाएर रकम निकासा गर्ने प्रावधान भएपनि ती कार्यालयले कुनै चासो नदेखाएको गुनासो बढ्दो छ जसका कारण करोडौँ राजश्व उठ्न सकेको छैन । ठेकेदार कम्पनिलाई रकम निकासा गर्दा कडाई नगरेपछि आर्थिक चलखेलको आशंका बढेको छ । तसर्थ, केन्द्र र प्रदेश मातहतका कार्यालयले राजश्व संकलनमा स्थानिय तहसँग समन्वय गरेर अघि बढ्न जरुरी छ । अतः ठेकेदार कम्पनिसँग लचिलो बनेर स्थानिय तहको आम्दानिमा धक्का पुग्ने गतिविधि नगर्न केन्द्र र प्रदेश मातहतका कार्यालय गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया