शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुनकोशीमा वेपत्ता भएकाहरू अझै भेटिएनन्

सोमवार , जेठ २२, २०८०

सिन्धुली २२ जेठ –सुनकोशी नदीमा जिप खसेर हराएका तीन सरकारी कर्मचारीको अवस्था चार दिन बित्दा समेत अझै पत्ता लाग्न सकेको छैन । जेठ १९ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर–७ लौकुनबाट सिटिभिटिको बा.अ. झ ७४६७ नम्बरको जिप सुनकोशी नदीमा खसेर उनीहरु बेपता भएकाे थिए । हराएका तीन जनाको खोजीका लागि सुनकोशी नदीमा तीनवटा स्काइभेटरको प्रयोग गरेर खोजी कार्य जारी राखेपनि उनीहरु फेला पर्न सकेका छैनन् ।

दुर्घटनापछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेकोमा सोमबार बिहानैबाट पुनः खोजी कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी जानकारी दिनुभयो । उपरीक्षक सिलवालका अनुसार जीप खसेको स्थानमा पानीको गहिराइका कारण पानीमा करेन्टको बहाव बढी भएकाले खोजी कार्यमा केही समस्या भएता पनि पानीलाई अन्यत्र डाइभर्ट गर्ने काम भइरहेको छ । पानीलाई अन्यत्र पठाएपछि खोजी कार्य अझ सजिलो हुने उहाँको भनाई छ । गोताखोरको टोलीले जिप खसेको स्थानभन्दा ८ किलोमिटर तलसम्मको दुरीमा पुगेर खोजी कार्य गरेका छन् ।

सिटिभिटिका सहसचिव कृष्णबहादुर केसी, अर्का सहसचिव यम प्रसाद भुर्तेल र विधुत प्रशिक्षक भानु पौडेल जिपसहित सुनकोशी नदीमा हराइरहेका हुन् । काठमाडाैंबाट खोटाङ तर्फ जाँदै गरेको उक्त स्कारपिओ जिप मध्यपहाडि लोकमार्गको ओरालो सडकबाट अन्दाजी एक सय मिटर तल सुनकोशी नदिमा खसेको थियो । दुर्घटना भएको जिपका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया