शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली अस्पतालका बारे ....

शुक्रवार , जेठ १२, २०८०

लेखक : दिपेश बराल

सिन्धुली जिल्लाको सबै भन्दा ठूलो अस्पतालको रुपमा रहेको अस्पताल हो । यसमा ८ जना विशेषज्ञको दरबन्दी सहितका अन्य स्वास्थ कर्मीहरु कार्यरत हुनुहुन्छ । हिजोका दिनमा एउटा दुई वटा एम बि बि एस डाक्टरको भरमा चलेको अस्पताल , जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु , समाजसेवी , बुद्धिजिविको विशेष पहलमा यो अस्पताललाई जिल्ला कै नमुना अस्पतालका रुपमा बिकास गर्न सकिन्छ कि भन्ने हेतुले १५ शैयाबाट ५० शैयाको बनाइ अगाडि बढाउने कार्यमा सबैको हातेमालो भयो । यो अस्पताललाई ५० शैयाको बनाउदा धेरै दुःख कष्टको सामना गर्नु परेको सिन्धुलीका अग्रज राजनीतिकर्मीको भनाइ रहेको छ । अस्पतालमा विभिन्न उपकरण हरु , सामग्रीहरु , लगायत स्थायि भवन , अस्थायी भवन हरु सबै दाताहरूकै सहयोगमा निर्माण भएका हुन् । अहिले अस्पताललाई १०० शैयाको रुपमा बिकास गर्ने प्रक्रियामा नयाँ भवन निर्माण सम्पन्न हुन लागेको छ । भने अत्याधुनिक स्वास्थ परिक्षणका मेसिन खरिद प्रक्रियाहरु धमाधम भै रहेका छन् । यसरी हेर्दा सिन्धुली अस्पताल एउटा सिन्धुलीका निमुखा जनताको लागी आशा र भरोसाको केन्द्रका रुपमा बिकास भएको छ । कोरोना कालमा क्वारेन्टाइन , कोरोना परिक्षण सेन्टर ,कोरोना अस्पताल लगायत स्वास्थ सेवाका लागि सिन्धुली अस्पतालका चिकित्सक एबं स्वास्थकर्मीले देखाएको भुमिकाको जत्तिनै प्रशंसा गरेपनी कम हुन्छ । जिल्लाका सबै जनप्रतिनिधिहरु , सबै राजनीतिक दल , सामाजिक संघ सस्थाको पहलमा निकै कम समयमा कोरोना अस्पतालको निर्माण भएको थियो भने जिल्लामै अक्सिजन प्लान्ट स्थापनाको पनि स्थापना भयो । यसरी सिन्धुली अस्पतालले आफुलाई स्वास्थ क्षेत्रको महत्वपूर्ण हिस्साको रुपमा जिल्ला लगायत अन्य जिल्लामा पनि आफुलाई चिनाउदै अगाडि लान सफल भयो । यसमा सबैको हातमा हात र काधमा काध रहेको थियो । अस्पताल ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष प्रलाद पोखरेल भन्नुहुन्छ,“ हाम्रो कार्यकालमा १३ जना सम्म विशेषज्ञ डाक्टरहरु पनि यहाँ हुनुहुन्थ्यो । नाक कान घाँटी र आखाको विशेषज्ञको दरबन्दी नरहेता पनि अस्पताल आफ्नै स्रोतबाट ब्यबस्थापन हुने गरी हामीले ल्याएका थियौ । विभिन्न स्रोतबाट दाताहरूको सहयोगबाट अस्पताललाई अत्याधुनिक बनाउने काममा सहयोग भएको छ । ” यति धेरै सम्पन्न अस्पतालमा भर्खर घटना किन घट्यो ? अस्पतालको बाताबरण किन धुमल्लियो ? यसको चर्चा गर्न आबश्यक छ । गत पुषको कुरा हो । मेरो आफ्नै पाइडोनियल सिनास रोगको उपचार गराउन अस्पतालमा गए । मेरो अप्रेसन सफलता पुर्बक सम्पन्न भयो । सबै राम्रो नै थियो । बिदा हुँदै गर्नु भएका अध्यक्ष र नयाँ अध्यक्षको स्वागत पनि म अस्पताल हुँदा हुँदै भयो । सबै नै राम्रो ठिक ठाक नै चलिरहेको थियो । राम्रै उपचार पाएर म डिस्र्चाज भए । एकाध कर्मचारी बाहेक सबैको राम्रै व्यबहार पाइयो । तर जब म आमाको उपचारको शिलशिलामा अस्पताल गएको थिएँ । त्यहा त अबस्था भद्रगोल रहेछ । डाक्टरहरु हुनुहुदो रहेनछ । बिरामीले सास्ती नै पाएको महसुस गएर फर्किए । अस्तिको दिन मिति २०८० जेष्ठ ९ गते दिनको १२ बजेको समयमा कमलामाई नगरपालिका वडा नं ५ कि गंगा कुमारी गुरुङ श्रेष्ठ डेलिभरी गराउन सिन्धुली अस्पताल ल्याइएकोमा डेलिभरी हुन नसकी दिनको २ः३० बजे बर्दिबास ट्रमा सेन्टर पठाएको र बेलुका ५ बजे चेकजाँच हुँदा अस्पतालले मृत घोषणा गरेपश्चात , मृतकका आफन्त पक्ष भनिएका आक्रोसित भइ अस्पतालमा तोडफोड भएको र अस्पतालका सम्पुर्ण स्वास्थ कर्मीले असुरक्षित महसुस गरि काम गर्ने बाताबरण नभएको भनेर अस्पतालमा नबस्ने स्थितिको सिर्जना भयो । अस्पतालका चारै तिर झ्यालका सिसा फुटेका , थिए । केही संचार माध्यमले डाक्टरको लापरबाही भनेर लेखेका थिए । कोहि अस्पताल अध्यक्ष र मेसु किन भागे भनेर सामाजिक संजालमा लेख्दै थिए । कोहि ढुङ्गा हान्दै थिए । झडप र तनाबका बिच जेठ ९ र १० गते दिउँसो सम्म सिन्धुलीको स्थिति तनावग्रस्त थियो । यस्तो सिर्जना भए पश्चात , १० गते बिहान ९ बजे , प्रशासनको रोहबरमा , सिन्धुली अस्पताल र पीडितका आफन्त, नागरिक समाज , बिच , भएको सहमति भएको कागज बाहिर आयो । तर यो कागज मान्दैनौ भन्दै पनि अस्पतालका आकस्मिक कक्ष समेत संचालन हुन नसक्ने गरी अस्पताल तोडफोड भयो । सामाजिक संजालमा हत्यारा डाक्टर भन्दै हालियो । चिकित्सक नर्सहरुले असुरक्षित ढंगले काम गर्न नसक्ने भन्दै त्रासदिको स्थितिमा काममा फर्किन नसक्ने जानकारी गराए । स्थिति झनै तनावग्रस्त भयो । तत पश्चात् भएको सर्बपक्षिय छलफलबाट पुर्बवत सहमति अनुसार कै व्यबहार हुने भन्ने कुरा आयो । लास बधवार साँझ सदगत गरियो । यो परिस्थिति निम्तिनुका पछाडी धेरै कारण रहेका छन् । त्यसको सबैभन्दा पहिलो कारण यो विचमा धेरै समय विशेषज्ञ डाक्टरहरुको अभाव हुनु , बिरामीहरु धेरै पटक आएर त्यसै फर्किनु नै आक्रोशको प्रथम कारण थियो । यसको उपाय भनेको तसर्थ दरबन्दी अनुसारको डाक्टर राखेर आएका बिरामीलाई सन्तुष्ट तवरले उपचार गराएर घर पठाउने बाताबरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनु पर्दछ । अर्को कारण अस्पतालका डाक्टर , नर्सको व्यबहार अत्यन्तै शालिन छ । तर त्यो भन्दा तल्लो तहमा काम गर्ने कर्मचारीको व्यबहार कत्तिन अस्पताल नै उनीहरुले थेगेको जस्तो छ , उनिहरुले बिरामीलाई गर्ने झर्किफर्की , आफन्तलाई गर्ने रुखो व्यबहार र ढिला सुस्तीले अस्पताल आउने धेरैको मन कुडिएको छ । यो कुरालाई सम्बन्धित पक्षले ध्यानमा राखी , सोर्सफोर्समा जागीर खाएकालाई निकालेर खुल्ला प्रतिस्पर्धाबाट करारका सबै कर्मचारी भर्ना गरि त्यसमा बिनयशिलता र ब्यबहारिक पक्षको पनि तालीम दिएर काममा लगाउन जरुरी देखिन्छ । सुत्केरी महिलाको मृत्यु आफै भएको कि साच्चिकै डाक्टर कै लापरबाहीले भएको हो भने त्यसको छानबिनका निकाय छन् । समिति बनेको छ । निस्पक्ष छानबिनका लागि सबैले खबरदारी गर्नै पर्दछ । यदि लापरबाही भएको भए कडा कार्बाही र नभएर मिस गाइड गरेको भए कस्ले गएको हो पत्ता लगाएर उसलाई कार्बाही गर्नु पर्दछ । यस बिचमा मेरो सिलामे कै दाजुभाइ संग कुराकानी भयो । अस्पताल फोड्ने नियत उहाँहरुको थिएन । बिरामीको आफन्त उहाँ भन्दै हुनुहुन्थ्यो, “हामीले ढुङा पनि हानेनौँ । बाहिरबाट कोल्ले हो , ३ गाडी मानिस बोलाए , खैरो कपाल ,रातै कपाल भएका मानिस जो चिनिएको थिएन ऊनीहरु सहितको टोली आएर तोडफोड भएको हो । यो अत्यन्तै गम्बिर बिषय छ , अस्पताल तोडफोडमा संलग्न पीडितका आफन्त थिएनन् भने आखिर को थिए ? के उदेश्य राखेर मानीस प्रयोग गरियो ? के अस्पताल बर्बाद बनाउने कि प्रशासनलाई निकम्मा देखाएर आफू हिरो हुने ? कि आफै तनावग्रस्त स्थिति सिर्जना गरिदिने अनि आफै नै मिलाए जस्तो गरेर हिरो बन्ने ? यसको निस्पक्ष छानबिन हुनु पर्दछ । दोषिलाई कडा कार्बाही हुनु पर्दछ । आजको दिनमा यो अस्पतालमा भारत र मधेस प्रदेशबाट पनि बिरामी उपचार गराउन आउने गरेका थिए । यति धेरै बिस्वस्निय छवि बनिसकेको सिन्धुली अस्पताललाई कमजोर बनाउन , निजि क्लिनिकका धन्दा गर्ने , मधेसमा निजि अस्पताल चलाउने देखि धेरै माफीयाको पनि हात रहेको छ कि ? आशका गर्ने ठाँउ छन् । थुप्रै विशेषज्ञ भएको र यति धेरै बिरामीको आवत जावत बाक्लो भएको अस्पतालको छवि धुमिल बनाउने अभियानका नायक को ? पर्दा पछाडि भएपनी खुल्दै जाला । अमानवीय संस्कार र सिन्धुली कै बेइज्जत हुने बिश्व युद्धमा पनि कहिले निशानामा नपरेका रेडक्रस र ब्लड बैकंलाई पनि नछाड्ने कति क्रुर मानवीयता हो ? यसले हामी सबैलाई लज्जित बनाएको छ । हामी सबैले अस्पतालमा कार्यरत सम्पुर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनु पर्छ । चिकित्सक नै हाम्रो जिउँदो भगवान हुन् । उहाँहरुको सुरक्षाको ग्यारेन्टी राज्यले गर्नै पर्छ । अन्त्यमा कलिलो उमेरमा नै ज्यान गुमाउन पुगेकी मृतक गंगा कुमारी गुरुङ श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकाकुल सम्पुर्ण परिवारजनमा गहिरो समबेदना अर्पण गर्दछु । लेखकः नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटि सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया