शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मिसन टफ रुट

आइतवार , जेठ ७, २०८०

लेखक: दिपेश बराल

नेकपा एमालेले अहिले भर्खरै मिसन ग्रासरुट अभियान संचालन गर्‍यो । मिति २०७९ फागुन ५ गते केन्द्रिय कार्यालय बाट पार्टी अध्यक्ष केपि ओलिले उदघाटन गर्नु भएको कार्यक्रम लिएर केन्द्रिय प्रतिनिधि जिल्ला अन्तर जिम्मेवारी पाएर पालिका पालिका तिर डेरा जमाएर बसे । पार्टीका वडा र टोल टोल सम्म प्रदेश र जिल्ला स्तरका नेताहरू गएर पार्टीका आन्तरिक काम , जन स्तरमा सुझाव संकलन जस्ता काम पनि गरे । संगठनमा एउटा उर्जा पनि संचार भयो । तर पार्टी काममा युवा पुस्ताको आकर्षण जुन हिसाबले हुनु पर्ने त्यो हिसाबमा देखिएन । तल्लो टोल स्तरका कमिटीका एजेन्डा जनता सँग एकाकार हुने भन्दा पनि पार्टीका अधिबेशन र निर्वाचनमा केन्द्रित मात्रै देखियो । पार्टीका तल्लो तहका नेताहरू विच छिटपुट भन्दा बाहेक त्यति समस्या देखिएन । समस्या चाहिँ माथी नै भएको । पार्टीका नेताहरू ले नै समुह उप समुह निर्माण गरेको , पार्टीमा नयाँ मान्छे भिडयाउन भन्दा पार्टी भित्र खेलेर गुट निर्माणमा मात्रै लागेको भन्ने आरोप लगाए ।

यसै सन्दर्भमा मिसन ग्रासरुटको समिक्षा गर्न बसेको पार्टी केन्द्रिय कमिटीको बैठक बसेर ८० साललाई अधिबेशनको बर्षको रुपमा लिने र ३५ बर्ष मुनिका ३५% युवालाई लाने भन्ने निर्णय गर्‍यो । राजनीतिक रुपमा यो ऐतिहासिक निर्णय हो । सकारात्मक पनि छ । पार्टीमा युवा पुस्ता हस्तान्तरण गर्ने एउटा खुडकिलो पनि साबित हुन्छ ।

तर यतिले मात्रै पुग्दैन पार्टीलाई अगाडि बढाउन मिसन टफ रुट जरुरी छ । टफरुटका लागि केही कुरा म यस लेख मार्फत राख्न चाहन्छु ।

एउटै जिल्लामा कम्तीमा ३/ ४ देखि ७/८ जना सम्म केन्द्रिय सदस्य रहेको र नेता ब्यबस्थापनमा जिल्ला देखि मातहतका सम्पुर्ण कमिटीलाई समस्या परेको मात्रै होइन , पार्टीका आधिकारिक नेतृत्व विरुद्ध संस्थागत गुटबन्दीमा पनि मलजल पुगेकाले , केन्द्रिय कमिटीको आकार घटाएर जिल्लामा १/२ जना मात्रै पर्ने गरी सानो आकारको केन्द्रिय कमिटी निर्माण र त्यसमा पनि पदाधिकारीकै लेवलमा युवा प्रतिनिधित्व सुनिस्चितता अत्यन्तै आबश्यक छ ।

पार्टीका जन संगठनको काम नेताको चाकरी गर्ने , खाली पार्टी नेताहरू संग सेल्फी र उनीहरुको मात्रै गुणगान गाउने हुनु हुँदैन , आफ्नो संगठनका मुद्दाहरुमा केन्द्रित भएर बिसुद्ध आफ्नो क्षेत्रमा रहेका तमाम समस्यालाई उठाउने र त्यसलाई समाधान दिन वा पूरा हुन नसकेमा भण्डाफोर गर्ने अभियान संचालनमा तदारुकताका साथ अगाडि बढ्ने कार्ययोजना बनाएर अगाडी बढ्न पर्दछ ।

नेकपा एमाले आफैले हो , राप्रपा माओवादी लगायतका सबैलाई गठबन्धनको नाममा भोट अर्को चिन्हमा हाल्न सिकायौँ । पार्टी चाहिँ एमाले मन पर्ने , तर घण्टीमा भोट ठोक्ने पनि परिस्थिति देखा पर्यो । आज पार्टी संगठनले भन्दा एजेन्डाले पार्टी बन्ने रहेछ , एजेन्डा उठाएर मात्रै होइन एजेन्डा पूरा गर्न कत्तिको लाग्यो जनताले मुल्यांकन गर्ने परिस्थिति छ । अहिलेको १४ बर्ष पुगेको शिक्षित युवाले राजनीतिमा चासो राख्दै छ । ८४ को मतदाता पनि हुँदै छ । हामीले अब पार्टीको राष्ट्रिय राजनीतिका एजेन्डाका बारेमा जनताका समस्याका समाधान गर्न प्रतिपक्षीको रुपमा के कसरी दवाब दिन सकिन्छ सुक्ष्म निरीक्षण अध्ययन गरेर त्यस अनुसारको व्यबहार अपनाउनु पर्छ । पालिका एबं अन्य सरकारमा पनि समस्या समाधानका ब्यबहारिक उपाय पत्ता लगाएर अगाडि बढ्ने कार्यकर्ता तयार पार्नु पर्छ । खाली भजन गाउने कार्यकर्ताले पार्टी बन्ने सभावना कम छ ।

नेकपा एमालेको लक्ष्य समाजबाद नै हो , लोकप्रियतावाद त्यति टिक्दैन , बिकृती विरुद्ध खबरदारी गएर असन्तुष्ट जमातको मत प्राप्त गरेको शक्ति परिक्षणमा गएको छैन । तर समाजबादको प्रमुख आधार भनेको शिक्षा र स्वास्थ नै हो ।आजका दिनमा निरन्तर नेकपा एमालेले जितेका पालिकामा पनि आज सम्म शिक्षा स्वास्थ्य भन्दा किन भौतिक पुर्बाधारका नाउँमा हिउँदे बाटोमा पैसा बढी ? किन एमालेका र काँग्रेसका जनप्रतिनिधि बिच फरक नदेखिएको ? डोजरको बिकासलाई बिकास भन्ने मानकलाई परिवर्तन गर्न पर्दैन ? एमालेले जितेको पालिकामा पनि किसान पालिका धाउनु पर्ने ? किसानको घरमा पालिका जान नसक्ने ? कागज बोकेर कार्यालय धाउने कि किसान खेतमा काम गर्ने ? त्यसैले समाजबादमा पुग्न पनि शुसासन र डेलिभरी आबस्यक छ । यो कुरालाई पार्टीले ध्यान दिन पर्छ ।

नेकपा एमालेले कार्यकर्ताको पनि परिक्षा लिन पर्छ , पार्टीको ठूलो नेता छ , ठूलो कार्यकर्ता छ , समाजमा एक जनाले मन पराउदैन , अध्य्ययन छैन , व्यबहार शून्य छ , अपराधका मुद्दा नै मुद्दाले घेरिएको छ , उस्कै कारण अरु पार्टीबाट पलायन हुने स्थिती छ । कतिपय असल ईमानदारहरु यस्तैका कारण राजनीति बाट पलायन भै सकेका छन् । अब यस्को मानक के हो ? कसरी राजनीतिलाई शुद्धिकरण गर्ने ? यो बारेमा पनि टफ रुटमा ध्यान जाओस् ।

नेकपा एमाले पार्टीले , सबै हिसाबले आफुलाई अब्बलता साबित गर्न सक्नु पर्दछ । राजनीतिक पार्टी राज्य संचालन गर्ने मुल नीति हो । यो कुनै कमाई खाने र नेता ब्यबस्थापनको थलो होइन । तसर्थ राजनीतिलाई नेतृत्व गर्न सक्ने सक्षम मानीस खोजेर पार्टीले जिम्मेवारी दिन सक्नु पर्दछ ।

लेखकः नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटि सदस्य हुनुहुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया