सिन्धुली – दुई नगरपालिका र सात गाउँपालिका सहित नौं स्थानिय तह रहेको सिन्धुलीमा २ वटा मात्र दमकल रहेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि सुविधा सम्पन्न सवारी साधन र जेसिबी खरिद गरेका स्थानिय तहहरुले दमकल खरिदका लागि कुनै चासो दिएका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर, स्थानिय सरकारका प्रमुखहरुले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै दकमल खरिदका लागी चासो दिने गरेका छैनन् ।
विपदका विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण छ । यस्तो विपत्ति भएको खण्डमा पूर्वतयारी स्वरूप चाहिने अत्यावश्यक दमकल यस जिल्लाका सात वटा स्थानीय तहसँग छैन ।
आगलागीका घटना हुदाँ मात्रै दमकलको आबश्यकता महशुस गर्ने जनप्रतिनिधीहरु भौगोलिक विकटता तथा खर्चिलो हुने बताउछन । आगलागिका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुँदा धनजनको क्षति धेरै हुने गरेको छ । तर पनि स्थानीय सरकारले दमकललाई प्राथमिकतामा राखेका छैनन् ।
सिन्धुलीको तिनपाटन, फिक्कल, घ्याङलेख, मरिण, सुनकोशी र हरिहरपुरगढी गाउँपालिकाले जेसिबी भने खरिद गरिसकेका छन तर मानवीय सेवा र उद्धारमा प्रयोग हुने दकमल भने खरिद गर्न चासो देखाएका छैनन् । दमकल खरीदमा विभिन्न बहाना गर्ने स्थानीय तहहरूलाई जेसिबी किन्न भने कुनै समस्या छैन ।
स्थानीय सरकारले बर्षेनी लाखौं खर्चेर जनप्रतिनिधी र कर्मचारीका लागी आवश्यक सवारी साधन किन्ने गरेको तर बिपदमा अति आवश्यक हुने दकमल खरिद नगर्ने गरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय हितका लागी आवश्यक दमकल खरिद गर्नुको साटो स्थानीय सरकारहरु आफ्नो सुविधाका लागी सवारी साधन मात्र खरिद गर्छन ।” स्थानीय सरकारले बिपदमा आवश्यक पर्ने एम्बुलेन्स, दमकल जस्ता सामाग्री खरिदमा चासो नदिने गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले दमकल किन्ने सोच नभएको तर मरिण गाउँपालिका सँग समन्वय गरेर आबस्यक परे सहकार्य गरेर सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो । दमकल किन्ने हो खर्चिलो धेरै छ उहाँले भन्नुभयो, “त्यसको व्यवस्थापन गर्न स्थानिय सरकारले नसक्ने देखिएकाले अन्य सरकार सँग समन्वय गरेर सञ्चालन गर्न सकिन्छ की भन्ने योजनामा छौं ।”
त्यसैगरी गोलन्जोर गाउँपालिकाका अध्यक्ष संकर बराल पनि आबस्यकता भएको तर बजेट नभएको बताउनुहुन्छ । दमकल किन्ने सोचनिय बिषय हो उहाँले भन्नुभयो, “तर बजेट छैन अन्य गाउँपालिकासँग समन्वय गरेर चलाउने सोचमा छौं ।” स्थानीय सरकारसँग दमकल नहुँदा घर तथा जंगल क्षेत्रमा हुने आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ ।
आगलागीका घटना भएको खण्डमा कमलामाई नगरपालिकाले अन्य स्थानीय तहहरूलाई समेत सहयोग गर्दै आएको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहालले बताउनुभयो । “छिमेकी स्थानीय तहहरू आगलागी हुँदा नगरपालिकाको दमकल पठाउने गरिएको छ,” उहाँले भन्नुभयो, “दुरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन हुने भए पनि प्रहरीको सहकार्यमा दमकल पुग्छ ।”
चालु आर्थिक वर्षमा जिल्लाभरी २७ बढी स्थानको बनजंगल क्षेत्रमा आगलागि हुँदा २ हजार हेक्टर बनक्षेत्र सखाप भएको छ । डिभिजन बन कार्यालय सिन्धुलीका पमुख कृष्णराज न्यौपानेले जिल्लाभर आगलागिका घटना बढ्दै गएको बताउँदै स्थानीय सरकारसँग दमकल नहुँदा समस्या हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय निकायले आफ्नो दमकल राख्यो भने नजिक पर्छ, अपनत्व वहन पनि हुन्छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण ऐनले पनि हरेक स्थानीय तहमा दमकल अनिवार्य गरेको छ । आगलागीका घटनामा दमकल जति चाँडै पुग्न सक्यो, त्यति क्षति कम हुने हो । त्यसैले पनि स्थानीय तहमा दमकल राख्नुपर्छ भनिएको हो ।”
जिल्ला बन कार्यालयको तर्फबाट आगलागी नियन्त्रण तथा रोकथामको लागी सुरक्षा निकायसँग समन्यव गरेर डेमो प्रदर्शन, सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरुलाई सचेतनामुलक अभिमुखिकरण लगायतका कार्यहरु भैरहेको उहाँले बताउनुभयो ।
गर्मीयाम शुरु भएसँगै सुख्खा खडेरीका कारण जिल्लामा आगलागीको जोखिम बढ्दै गईरहेको छ । जंगलबाट शुरु भएको डढेलो मानवबस्तीमा जान्छ, ठुलो मात्रामा जनधनको क्षती हुन्छ तर गाउँमा सिंहदरबार आएको भएपनि मानवीय जोखिम न्यूनिकरण गर्न दमकल खरिद र सञ्चालनमा स्थानीय सरकार गैरजिम्मेवार बनेको छ । जिल्लाको सुनकोशी गढतिर क्षेत्र, मरिण क्षेत्र तथा तिनपाटन क्षेत्रमा आगलागी हुँदा बाहिर जिल्लाबाट समेत दमकल ल्याउनुपर्ने बाध्यता रहेको छ ।