सिन्धुली – सिन्धुलीमा यौनजन्य घटनाहरु बढ्दै गएकाले पिडीतलाई न्याय प्राप्तीको लागि सुरक्षित बनाउन सहायक प्रमुख जिल्ला अधिकारी मार्फत महिलाकर्मीहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
अखिल नेपाल महिला संघ सिन्धुली, महिला मानव अधिकार सञ्जाल सिन्धुली, क्रियाशिल पत्रकार महिला सिन्धुली, अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुली र सिन्धुली अपांग महिला संघ सिन्धुलीले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
देशभर महिला तथा बालबालिका बिरुद्ध हुने शारिरीक तथा यौनजन्य हिसांका घटनाहरु दिनदिनै बढ्दै गएको र यौनजन्य हिंसाका घटनाहरुमा पिडीतले न्याय नपाउने, गाउँ समाज, वडा कार्यलयहरु, प्रहरीको आखाँ अगाडीनै मिलापत्र हुने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मुद्धा दर्ता गर्न नदिने, मिलाउन दबाब दिने, आर्थिक प्रलोभन देखाउने, राजनैतिक र अन्य दबाबका कारण हिंसा पिडीतले न्याय पाउने अवस्था छैन ।
इन्सेकको सन् २०२२ को तथांक अनुसार सिन्धुलीमा ७४ वटा महिला बालबालिका सम्बन्धी घटना भएका छन् भने सन् २०२३ मा ५३ वटा घटना भएका छन् । जिल्लामा बलात्कारको घटना बढ्दै गएको र अपांगता भएका ब्यक्तीहरु झनै हिंसामा पर्ने जोखीम बढेको ज्ञापन पत्रमा भनिएको छ । उजुरी प्रक्रीयामा आएका घटनाहरु समेत प्रभावकारी अनुसन्धान हुन नसकेकोले बलात्कार जन्य घटनाहरुमा प्रभावकारी अनुसन्धान हुन जरुरी रहेको छ ।
पिडीतको मौखीक उजुरीलाई समेत लिइ अनुसन्धान गर्ने र पिडीतलाई सुरक्षा गर्ने जिम्मा राज्यको भएकाले त्यस तर्फ राज्यको ध्यान जान आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराइएको छ । पिडीतलाई न्याय प्राप्तीको लागि सुरक्षित र ढुक्क बनाउने, पिडीतको सुरक्षा गर्ने र राज्यको जिम्मेवारीलाई प्रभावकारी बनाउन आवश्यक छ । महिला हिंसा र यौनजन्य हिंसाका कारण आश्रीत बालबालिका हरुमा समेत प्रभाव परेकाले उनीहरुको संरक्षणको खाँचो बढीरहेको र यसतर्फ राज्यले दिर्घकालिन योजना बनाउन र उनीहरुको संरक्षको लागि राज्यको गम्भीर ध्यानाकषर्ण गराउछौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै अखिल नेपाल महिला संघ जिल्ला कार्य समिति सिन्धुलीले स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष स्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यलयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा “जिल्लामा रहेका सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा अत्यावश्य पर्ने स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहुदा सेवाग्राही तथा कार्यालयमा काम गर्ने महिला कर्मचारीलाई समस्या हुदै आएको र केहि कार्यालयमा भएका स्तनपान कक्षहरु हटाईएकोले सेवाग्राहीहरुको अत्यन्तै चाप हुने सकारी कार्यालयहरु बैकहरु, स्थानीय तहहरु, वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत महिला कर्मचारी र महिला सेवाग्राहीलाई सहज हुने गरि स्तनपान कक्ष र बालबालिहरुका लागी शिशु स्याहार कक्ष नहुदाँ परेको समस्यालाई मध्यनजर गरि स्तनपान कक्ष र शिशु स्याहार कक्ष स्थापना गर्न गराउँन माग ध्यानाकर्षण गर्दछौ भनिएको छ ।”
साथै, समन्वय र सहजीकरण गरि सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई अनेम संघले अनुरोध गरेको छ ।