सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाका बालबालिकाहरुमा कुपोषणको समस्या देखिएको छ । गाउँपालिकाले घरधुरी सर्वेक्षण गरेर ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकाको पाखुराको नाप जाँच गर्दा बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।
गाउँपालिकाले संचालन गरेको पोषण लेखाजोखा अभियानमा २ हजार १ सय ७ जना बालबालिकाको पाखुराको नाप गर्दा १ जनामा कडा शीघ्र कुपोषण र ३३ जना बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मधु लाखेले जानकारी दिनुभयो । २ हजार ७३ जनामा भने सामान्य पोषणको अवस्था पाईएको संयोजक लाखेलेबताउनु भयो।
घरधुरी सर्वेक्षण गर्दा कडा शिघ्र कुपोषण र मध्यम शीघ्र कुपोषण देखिएका बालबालीकाहरुलाई नियमित कुपोषणको अवस्थाको जाँच तथा उपचार गर्ने योजना रहेको शाखा संयोजक लाखेको भनाई छ ।
कुपोषणको समस्या देखिएका बालबालिकाहरुको अभिभावक, स्याहारकर्ताहरुलाई पोषण र स्वास्थ्य सम्बन्धि सचेतना अभिवृद्धि गराउन वडा नं. १, ३ र ६ मा कार्यक्रम संचालन गर्ने शाखा संयोजक लाखेले जानकारी दिनुभयो ।
कुपोषित बालबालीकाहरुलाइ स्वास्थ्य तथा सरसफाईका सामाग्रीहरु वितरण गर्ने योजना समेत रहेको शाखा संयोजक लाखेको भनाई छ ।