लेखक: प्रदिप्त सिन्धुलीय (संस्थापक संयोजक ,दारी ग्याङ, सिन्धुली एवं केन्दिय सदस्य, दारी ग्याङ )
सुरुवातमा दारी पाल्ने मान्छेहरुलाई जोडेर मनोरञ्जनको लागि भन्दै २०७२ साल फाल्गुन ६ गतेका दिन खोलिएको फेसबुक ग्रुप थियो ‘दारी ग्याङ’ । उक्त फेसबुक ग्रुपमा दारी र कपाल पालेका युवाहरुको तस्बिर र दारी सम्बन्धि जानकारीहरु पोष्ट हुने गर्दथ्यो । ‘दारी ग्याङ’ लाई रमाइलो समूहमा मात्र सिमित हुनुथिएन, समाजको सोच परिवर्तन गर्नुथियो । दारी, कपाल पालेका मान्छे हिसांको प्रतिक होइनन् र दारी, कपाल पाल्दैमा मान्छे गुन्डा हुदैँनन् भन्ने कुरा समाजलाई बुझाउनु थियो । समाजले लामो दारी र कपाल पाल्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन ‘दारी ग्याङ’ ले विविध क्रियाकलाप गरेको छ । दारी कपाल झयाप्प पालेका युवाहरुले रमाइलोकालागि बनाएको ग्रुपबाटै सामाजिक कार्यमा हात हाल्यो । केही जिल्लाबाट सुरुवात भएको दारी ग्याङको समाज परिवर्तन गर्ने कामहरु, आजसम्म आइपुग्दा लगभग सबै जिल्लाका साथीहरु सँगसँगै देश बाहिर रहेका साथीहरुलाई समेत जोड्न सफल भएका छ । झण्डै ६० जिल्लामा दारी ग्याङ सक्रिय रुपमा रहेका छन् र ती समूहले विभिन्न कार्यक्रमहरु पनि गरिरहेका छन् ।

‘दारी ग्याङ’ लाई यत्तिकैमा रोकिनु थिएन, अब दर्ता गरेर अघि बड्नु थियो । २०७६ सालमा राष्ट्रिय भेला गरी “दारी ग्याङ प्रा.लि.” (मुनाफा वितरण नगर्ने कम्पनी) मा दर्ता भयो र कानुनी प्रकृया अपनाएर कामहरु अघि बढाउन थाल्यो ।
सिन्धुली दारी ग्याङ:
मैले दारी ग्याङको स्थापना कालदेखिनै सो समूहको गतिविधि निहालिरहेको थिए । यो समुहले गरिरहेको काम, सहयोग देखेर मलाई नि यो समुह हाम्रो ठाउँमा स्थापना गर्न मन लाग्यो । यस समुहका एड्मिनहरु सँग बुझ्दा जुन जुन ठाउँमा यो समुहको स्थापना भएको छ, त्यहि ठाउँका मेम्बरहरु मिलेर यो समुहको स्थापना भएको हो । यस्तो कुरा सुनेपछि मैले पनि सिन्धुलीमा भएका दारी ग्याङका साथिहरुलाइ सम्पर्क गरेर हामी सबै मिलेर सिन्धुलीमा दारी ग्याङको स्थापना गर्न खोज्यौँ ।
संयोपनि पनि झुर्यो । त्यतिनै बेला मुसहर बस्ती बर्दिवासमा दारी ग्याङ, काठमाडौँ का १० जना स्वयमसेवक बर्दिवास आउने खबरले हामी हर्षित भयौँ । समय मिलाएर एक दिनका लागि सिन्धुलीबाट प्रतिनिधि गर्दै म लगाएत अरु साथिहरु सुशान्त बराल र बिमल बराल आफ्नो गन्तव्य मुसहर बस्तीतर्फ लाग्यौँ । त्यहाँ हामी १० बजे पुगेका थियौ । सबै दारी ग्याङका दाईहरु आआफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । परिचय सँगै हामी पनि दाईहरु सँगै काममा लाग्यौँ । दिन बिति सकेको थियो, सबैलाई सिन्धुली आउन निम्तो छाडी बेलुका ५ बजे हामी सिन्धुली फर्कियौँ । २०७४ चैत ११ गते काठमाडौँबाट आउनु भएका सबै दाइहरुलाई सिन्धुलीमा स्वागत गरियो । सिन्धुली आइ सकेपछि दाइहरु आएकै बेलामा सिन्धुलीमा पहिलो बैठक राख्नु पर्छ भन्ने सल्लाह अनुरुप सिन्धुलीमा २०७३ चैत १२ गते शनिबारका दिन दारी ग्याङको पहिलो औपचारिक बैठक बस्यो ।सोहि दिन दाइहरुलाई नेपालको पहिलो जरबुट्टा कला संग्रहालय र सिन्धुलीगढि अवलोकन गराइयो । अवलोकन पश्चात सबै जना काठमाडौँ फर्कनु भयो । त्यस दिन देखि आजको दिन सम्म दारी ग्याङ सिन्धुली पनि आफुले सकेका कामहरु गर्दै आएको छ ।
नेपाल रेडक्रस सिन्धुली शाखाको सहयोगमा दारी ग्याङ सिन्धुलीले पहिलो कार्यक्रम रक्तदान कार्यक्रम गर्यो । उक्त रक्तदान कार्यक्रमबाट ७२ पाउन्ड रगत संकलन भएको थियो । सिन्धुली युवाहरुको जोस “गालामा दारी काँधमा जिम्मेवारी” को नारा बोकी रक्तदान पछि सरसफाइ, सहयोग तथा साहित्यिक कार्यक्रम दारी ग्याङ सिन्धुलीले गरिनै रहेको छ ।

रक्तदान कार्यक्रम गरेको भोलीपल्ट सिन्धुलीमा रगत अभाव भएको खबर आयो, यस्तो खबर सुन्दा हामी निराश भयौ र दारी ग्याङका साथिहरुले रक्तदान कार्यक्रम नगर्ने निणय गर्याँै । बरु, आवश्यक समयमा आफैँ उपस्थित भइ रक्तदान गर्ने निर्णय गर्यौँ । सबै सदस्यहरुको सहयोगमा पहिलो रक्तदान पश्चात हामीले आजको दिनसम्म सिन्धुलीमा आकस्मिक रक्तदान गरिरहेका छौँ । सिन्धुली ब्लड बैंकमा रगत संकलन क्षमता कम भएको र कुनै ठुलो रक्तदान कार्यक्रम भएमा सबै रगत बाहिर पठाउने जानकारी पायौँ । रक्तदान गरेकै भोलिपल्ट रगतको अभाव भएको देख्दा सम्बन्धित निकायले यो विषयमा चासो दिनु पर्ने देखिन्छ, भविष्य हेर्नु पर्ने देखिन्छ । सिन्धुली अस्पतालले एउटा ठुलो आकार लिदै छ, जहाँ सबै सुविधाहरु सिन्धुलीकाबासीहरुले पाउँनेछन् । पछि रगत संकलन क्षमता कम भएकै कारणले केही घटना नघटला भन्न सकिनन् ।
‘दारी ग्याङ सिन्धुलीले’ दोश्रो कार्यक्रममा सरसफाई गर्यो । सो समूहले कमलामाई मन्दिर सरसफाई, बालबालिकाको साहित्यक मनोबल बढाउन विद्यालय स्तरीय कविता प्रतियोगिता, शैलशिखर अनाथलयमा रहेका असाहय टुहुरा बालबालिकालाई कपडा वितरण कार्यक्रम, अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम, कमलामाई नगरपालिका वडा नं. ६ निवासी एकल तथा असक्त महिलालाई खाद्यान्न सामान र छोराछोरीहरुलाई स्टेस्नरी सामान वितरण कार्यक्रम, कमलामाई नगरपालिका वडा नं. २ मा बस्ने चित्र ब. श्रेत्रीको छोरा (स्व. कृष्ण क्षेत्री) लाई ब्लड क्यान्सर उपचारका लागि केही रकम सहयोग, सिन्धुली बजार क्षेत्र नगरपालिका अगाडि आवत जावत गर्न सजिलो होस् भनेर दूई ठाउँमा जेब्रा क्रसिङ निर्माण, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हरेक वर्ष लोकतान्त्रिक चोकमा दिप प्रज्जवलन कार्यक्रम, सँगसँगै अन्य विविध कार्यक्रमहरु गरिसकेको छ । समाजलाई आवश्यकता अनुसार हामी हरेक क्षेत्रमा पुग्ने कोसिस गरि रहेका छाँै र यो क्रम अनवरत रुपमा जारी रहिरहने छ ।

रक्तदान, बस्ती निर्माण, सिपमुलक तालिम, प्रयोगात्मक शिक्षा, जनचेतनामूलक अभियान, नो सेभ नोभेम्बर लगायत विभिन्न सार्वजनिक कार्यक्रमहरु ‘दारी ग्याङ’ले गर्दै आएको छ । स्वयंसेवकको भुमिका निर्माण साथै स्वास्थ्य, शिक्षा, आर्थिक र राजनितिक क्षेत्रमा हुने गरेका ज्यादती र भ्रष्टचार विरुद्ध बुलन्द आवाज सम्पूर्ण नागरिकलाई जनचेतना जोगाउने क्रम पनि जारी नै रहने छ ।
दारी ग्याङले युवाहरुबिच एउटा समुधुर सम्बन्ध गाँसेको छ, जुन रगतको नाता भन्दा गाढा छ । या भनौँ रगतको नाता भन्दा नि दारीको नाता मजबुत छ । खएर हजारौँ मान्छेहरुको साथ, सहयोग र विश्वासले गर्दा नै यही २०७९ फाल्गुन ०६ गते सातौँ वार्षिकत्सवको अवसरमा फाल्गुन ०६ र ०७ गते रुपन्देही बुटवलमा दारी ग्याङको दोश्रो अधिवेशन हुन गईरहेको समेत जानकारी गराउन चाहान्छु । जय दारी ।