शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ब्यक्तिगत स्वार्थ पुरा गर्न पदीय दुरुपयोग बढ्यो

आइतवार , माघ २९, २०७९

लेखक :खड्ग बहादुर खत्री

नेपालीहरु किन पद भनेपछि मरिहत्ते गर्दछन ? पद पाउँन तछाडमछाड गर्छन् ? पद पाएपछि छोड्न मान्दैन्नन ? आज नेपालीहरुमा सबै सोपान संरचनामा तल देखी माथि सम्म, यो रोग बलियो गरी लागेको छ । यसको अन्त्य अनिबार्य छ । कुनै राजकीय पदहरु(प्रधानमन्त्री, मन्त्री, विभिन्न नियुक्ति )छाड्ने बेलामा कोहि रुन्छ्न, कोहि बौलाउछन, कोहि कराउँछन । यो संसारमा पदीय आशक्तीका लागि ज्यानै छाड्ने एउटा संस्कार नै भएको छ । राजनीतिक दलहरूका तथा तिनीहरुका जन बर्गिय संगठनका अधिबेशन महाधिबेशनमा त्यस्तै हुन्छ । पद नपाए देखी पार्टी नै छोडने सम्मका धम्की दिने कार्य समेत हुने गरेको छ । यसो बिचार गरौं त । यस्ता पदलोलुपहरुले जनताको एजेन्डा, बिकास निर्माण कसरी गर्छन ? नागरिकले के आधारमा बिश्वास गर्नु ? आफनो स्वार्थ पुरा गर्न जे पनि गर्ने परिपाटीले कसरी जनताका मुद्दा समाबेश हुन्छन् ? आज नेपालका शासक वर्गमा व्यक्तिगत स्वार्थका लागि जसरी तछाड मछाड भइरहेको देखिन्छ त्यसवाट के देखिन्छ भने वाहिर जे जे वोलेपनि मुलुकको समृद्धि न त उनीहरुको चाहना हो न त मुलुकलाई समृद्ध वनाउन सकिन्छ भन्ने उनीहरुलाई विश्वास नै छ । हिजो केन्द्रमा मात्रै रहेको ब्यक्तिगत स्वार्थ केन्द्रित राजनीतिक रोग, आज गाउँ गाउँ आइसकेको छ । गाउँ गाउँमा स्कुल खानेपानी बाटो लगायतका उपभोक्ता समितिमा बस्न तछाडमछाड हुन्छ । तर पद प्राप्त भएपछि आफ्नो कर्तव्य बिर्सिएर ब्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको देखीन्छ । पूर्विय दर्शनका महान विचारक चाणक्यले भनेका छन – “जुन देशमा असंख्य नेताहरु छन र जहाँका जनताको चेतनाको स्तर शून्य छ भने त्यो देशको समृद्घि असम्भव त छैन तर कठिन छ ।” चाणक्यको यस विचारलाई मनन गरेर नेपालको विश्लेषण गर्ने हो भने आज नेपालमा सामाजिक, आर्थिक, राजनैतिक र नैतिक रुपले यति भयावह हुनुको पहिलो कारण, उनले भनेझै विभिन्न स्वार्थ समुहको, दुषित उद्देश्यका साथ विभिन्न पृष्टभुमीका ब्यक्तिहरुको राजनीति प्रतिको आकर्षण हो । जस्ले गर्दा मुलुकमा असंख्य नेताहरु उदाए भने अर्को प्रमुख कारण जनताको चेतनाको स्तर नै हो । अहिले नेपाली समाजमा कोहि तटस्त बिष्लेषक छैनन् । जो सबैभन्दा बढी स्वतन्त्र समाजसेवी भन्न रुचाउछ, उत झन आफ्नो दुनो सोझ्याउन फाइदा केन्द्रित मुद्दामा पक्ष वा विपक्षमा उभिन्छ र टन्न डलर वा सरकारी पैसा झार्दछ । अहिले जनतामा निराशा छाएको छ, जनता वाक्क दिक्क भै सकेका छन् । आशा गरेका, भरोषा गरेका राजनीतिक नेतृत्व, प्रशासकहरुले पनि राम्रो गर्न खोजेको जस्तो देखिएपनी अन्ततः फेरि आफ्नै फाइदाका लागि लागेको देखिएको छ । नेपालमै केही गर्छु भन्ने युवा जोश जागरले भरिएको एउटा व्याबसायी ऋणको बोझले चुर्लुम्म डुबेर आत्मदाह गर्दछ । तर बैंक राज्यको अर्बौं रकम कर नतिर्ने , कर छली गरेर रास्ट्र कमजोर पार्ने माफीया र मुठ्ठी भरका ब्यापारी पोषिरहेको छ । स्रोत नखुलेको स्विस बैंकमा नेपालीको करोडौं अर्ब रकम छ भन्ने कुरा आइरहेकै छ । अब यस प्रकारका ब्यथितिहरु अन्त्य गर्न जरुरी छ । तस्कर, दलाल, ब्यक्तिगत स्वार्थ केन्द्रित नेता, कमाउने भाडोको रुपमा सार्बजनिक र राजनीति पदलाई दुरुपयोग गर्ने कार्यकर्ताहरु जनताले चिनेर राजनीतिलाई शुद्धिकरण गर्नुपर्छ । राजनीति भित्रका बिकृतिको विरुद्धको नारा दिएर , फरक गरेर देखाउछु भनेर चुनाब जितेर जाने को पनि हैसियत त सत्ताकै लागि मरिहत्ते गर्ने नै रहेछ । राजनीति फोहोर भयो । फोहोरको डंगुरमा , टिकट नै किनेर ल्याउने वा निर्वाचनमा प्रतिस्पर्धा पनि अकुत सम्पत्तिका बलले लड्नुपर्छ भन्ने, फोहोरि खेलमा डुबेका राष्ट्रलाई लुटेका, लुटेराहरु कति चाडो पदमा पुग्ने स्थिती सिर्जना भै रहेको छ ? के हाम्रो देशमा इमान्दार राम्रा मान्छे पाउदैनौ ? ईमानदार मानिसलाई राजनीतिक दलले खुल्ला हृदयले पार्टीमा समाहित गर्नुपर्छ । जनताले पनि इमानदार सक्षम मानिसलाइ छान्न जरुरी छ । रक्सी मासु पैसामा बिकेर , पदिय दुरुपयोग गरेर सम्पत्ति आर्जन गर्नेहरुलाई नेता बनाउदा , न बिकास हुन्छ नत अबस्थामा परिवर्तन नै हुन्छ । तर पनि यस्तो अबस्था को बारेमा को बोल्ने ? तैचुप मैचुप किन हुनु पर्ने ? अबैधानिक आर्थीक वालाहरु को हालिमुहालि देखेर जनताहरु आजित भएका छन । यो मुलुकलाइ सिस्टममा चलाउने नेता आजको आबश्यकता महसुस भएको छ । जनता कहिले सम्म पिल्सिरहने ? नेताहरुले निर्णय गर्दा ब्यक्ति केन्दित होइन राष्ट्र केन्द्रित हुनु पर्यो । जनता जनार्दन हुन । अब सबैले सोच्न जरुरी छ ।

(लेखक कमलामाई नगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ)

प्रतिक्रिया