लेखक :सौगात रायमाझी
पृष्ठभुमी
नेपाली पत्रकारीता जगतमा नेपाल पत्रकार महासंघको इतिहास लामो रहेको छ । जहानीया राणा शासनको अन्त्यसँगै २००७ सालमा नेपालमा आएको प्रजातन्त्र सँगै २००८ साल जेठमा सत्य नारायण बहादुर श्रेष्ठ सभापति र भोज बहादुर सिंह न्यौपाने सचिब रहेको नेपाल पत्रकार संघ स्थापना भएको इतिहास भेट्न सकिन्छ । तर स्थापना पश्चात खासै नेपाल पत्रकार संघको तर्फबाट गतिविधी भएको देखिदैन । वि.सं. २०१२ चैत १६ गते को भेलाबाट गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा हाल नेपाल पत्रकार महासंघ रहेको छ । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । नेपाल पत्रकार संघको पुर्नगठन भएको दिन चैत्र १६ लाई नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन हो जसको ६५ वर्ष लामो इतिहास छ । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवद्र्वन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने, र पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।
यसका साथै देशमा भएका सबै लोकतान्त्रिक आन्दोलनहरुको एक अंगका रुपमा महासंघ सधैं उभिएको छ । लोकतान्त्रलाई सुदृढ गर्दै देशमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्नु महासंघको उद्देश्य हो ।
महासंघ र सिन्धुली
केन्द्रमा २०१२ सालमै महासंघको स्थापना भएको भएपनि सिन्धुली जिल्लाको हकमा भने २०४९ वैशाख २७ मा नेपाल पत्रकार संघ सिन्धुली शाखा गठन भएको देखिन्छ । तत्कालिन अवस्थामा शाखा गठनका लागी जिल्लाका पत्रकारहरुको संख्या नपुगेको अवस्थामा सिन्धुली र सर्लाहीका पत्रकारहरुको भेला भएर शेषराज दाहाल सभापति रहेको सिन्धुली शाखा गठन भएको पाइन्छ । त्यसपछि २०५१ सालमा दोश्रो सभापतिको रुपमा संकर सौगातले महासंघको नेतृत्व गर्नुभयो । पहिलो सभापति शेषराज दाहाल र दोश्रो सभापति संकर सौगातले दुई जिल्लाका पत्रकारहरुको नेतृत्व गर्दै सभापतिको जिम्मेवारी पुरा गर्नुभयो ।
२०५३ देखी २०५८ सम्म लगातार ६ वर्ष महासंघको सभापतिको रुपमा दुई कार्यकाल लिलानाथ घिमिरेले नेतृत्व गर्नुभयो भने २०५८ देखी २०६१ साल सम्म गणेश काफ्लेले महासंघको सभापतिको रुपमा नेतृत्व गर्नुभयो । महासंघको नेतृत्वमा २०६१ देखी २०६४ सम्म राजकुमार कार्की, २०६४ देखी २०६७ सम्म संजयकुमार दाहाल, २०६७ देखी २०६९ सम्म श्यामहरि अधिकारी, २०६९ देखी २०७० सम्म मिनकुमार दाहाल, २०७० देखी २०७३ सम्म द्धारीका काफ्ले, २०७३ देखी २०७७ सम्म होम कुमार कार्की(राजन) र २०७७ देखी हाल सम्म कृष्णहरि घिमिरेले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको नेतृत्व सम्हाली रहनु भएको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीले हाल सम्म ११ औंधिवेशन तथा १५ औं साधारणसभा सम्पन्न् गरिसकेको छ भने आज १६ औं साधारणसभा सम्पन्न् हुन लागीरहेको छ । अग्रज पत्रकारहरुले नेतृत्व गरिरहदा नेपाल पत्रकार महासंघ सबै श्रमजिवी पत्रकारहरुका लागी र आम नागरिकहरुका लागी गौरबगर्न लायक संस्थाको रुपमा स्थापित बन्दै गईरहेको अनुभुत हामी सवैले गरेका छौं ।
टिनको बाकसबाट सुविधा सम्पनन् भवन सम्म
नेपाल पत्रकार महासंघको जिल्ला शाखा गठन हुँदा संस्थासँग कुनै सम्पति थिएन । टिनको बाकसमा कार्यालय स्थापना गरि जिल्लाका पत्रकारहरुलाई संगठित गर्दै सुचना प्रवाहको काम सुरु गरेको नेपाल पत्रकार महासंघ सिन्धुली शाखा अहिले भौतिक रुपमा सम्पनन् भएको छ । यसको श्रेय पुर्व सभापति, सम्पूर्ण पत्रकार र भवन निर्माणमा सहयोग गर्ने सहयोगीहरुलाई जान्छ ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखा र जनसेवा पुस्तकालयको सयुक्त नाममा कमलामाई नगरपालिका–६ २ नं.बजारमा २ कठ्ठा ११ घुर जग्गा रहेको छ भने उक्त जग्गामा तिनवटा आफ्नै भवन रहेको छ । आफ्नै भौतिक संरचना र कार्यालयबाट महासंघ सञ्चालित भईरहेको छ भने पत्रकारहरुका लागी कार्यालयमा बसेर काम गर्ने पुस्तकालयमा अध्यन गर्ने लगायतको ब्यवस्था रहेको छ । यो असाध्यै राम्रो पक्ष रहेको छ ।
समृद्धि र सुशासन प्रबद्र्धनमा महासंघ
नेपाल पत्रकार महासंघ सिन्धुली जिल्लालाई सबृद्ध बनाउने अभियानमा पनि उत्तिकै महत्वपूर्ण भुमीका निर्वाह गर्दै आईरहेको छ । ऐतिहासीक सिन्धुलीगढीको संरक्षण र प्रचार गर्दै सिन्धुलीगढी बिजयउत्सब मनाउने प्रचलनको नेतृत्व गर्ने काम देखी सिन्धुलीका ऐतिहासीक, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार र प्रबद्र्धन गर्ने बिषयमा गम्भीर बनेर नेतृत्वदायी भुमीका निर्वाह गरेको इतिहास साक्षी छ । जिल्लामा सुशासनलाई प्रबद्र्धन गर्ने बिषयमा पनि नेपाल पत्रकार महासंघ सिन्धुली शाखा र जिल्लाका मिडिया र मिडियाकर्मीको भुमीका सकारात्मक रहदै आएको छ । जिल्लामा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको विकास तिब्र रुपमा हुँदै गईरहेको छ । हाल जिल्लामा ९ वटा स्थानीय रेडियो, २ वटा दैनिक पत्रिका, आधा दर्जन बढी साप्ताहिक र दर्जन भन्दा बढी अनलाईन पत्रिकाहरु सञ्चालनमा रहेका छन । नागरिकहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने बिषयमा जिल्लाका मिडिया र मिडियाकर्मीहरुको भुमीका असाध्यै उत्साहजनक रहदै आएको छ ।