शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हरिबोल गजुरेलले गरे लाभको पद अस्वीकार

बिहिवार , पौष १४, २०७९

सिन्धुली– सिन्धुलीको क्षेत्र नम्बर २ बाट निर्वाचित पुर्वसांसद हरिबोल गजुरेलले पार्टी बनाउने भन्दै कुनै पनि लाभका पद धारण नगर्ने बताउनुभएको छ । माओवादी आन्दोलनमा लागेका समकालीन नेताहरुमध्ये पुराना र अग्रज नेता गजुरेलले लामो समयदेखि पार्टीमा समस्या देखिएको बताउँदै पार्टी बनाउने अभिभारा आफूले पूरा गर्न तत्काल कुनै पनि राजकीय पदमा नजाने बताउनु भएको छ ।

पार्टी सुदृढ गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले कार्यकारी भूमिकाको माग प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको उहाँले बताउनु भएको छ । उहाँले पार्टीमा उचित कार्यकारी भूमिका दिए परिणाममुखी नतिजा ल्याउने बताउँदै पार्टीमा पछिल्लो समय देखिएका समस्याको हल गर्न सक्षम रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आफूलाई लाभका पदमा अफर गरे पनि निरन्तर पार्टीमै कार्यकारी भूमिकामै रहने इच्छा ब्यक्त गर्नु भएको छ । उहाँलाई आइतबाार प्रधानमन्त्रीसमेत रहनु भएका मओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपराष्ट्रपति लगायत अन्य कुनै लाभको पदको अफर गर्नु भएको थियो । तर, गजुरेलले त्यसलाई अस्वीकार गर्नु भएको छ ।उहाँले भन्नुभयो, “मूल विषय पार्टी बनाउने र माओवादी आन्दोलनका उपलब्धिको रक्षा गर्ने हो । म अझै पार्टीको काम गर्न सक्षम छु त्यसैले कार्यकारी भूमिका दिए ठोस र परिणाममुखी नतिजा ल्याउने छु ।”

पार्टीमा आफूले कार्यकारी भूमिकासहितको जिम्मेवारीको अपेक्षा गरेको बताउँदै उनले अगाडि भन्नुभयो, “म पार्टीमा देखिएको समस्या निराकरण गर्ने अहिलेको मुख्य चुनौती भएकाले पार्टीको सांगठनिक अवस्थालाई पुर्नजिवित तुल्याउन कार्यकारीे भूमिकाको अपेक्षा गरेको छु ।” पार्टीमा देखिएको समस्याको निरुपण गर्नुपर्ने अहिलेको मूल चुनौती रहेको भन्दै त्यसको हल गर्न आफू सक्षम रहेको उहाँको दाबी छ । माओवादीमा लागेका नेताहरुमध्ये अग्रज मानिने गजुरेल पार्टी बनाउने हुटहुटीले सक्रिय राजनीतिमा निरन्तर लाग्ने बताउनु भएको हो ।

उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई सरकारको काममा पूर्णतया केन्द्रित हुन आग्रह गर्दै पार्टी सञ्चालन अरुले नै गर्दा सरकार र पार्टी दुबैको काम थप प्रभावकारी हुने सुझाब दिनु भएको बताउनुभयो । २०४८ सालमा तत्कालीन नेकपा(एकताकेन्द्र) बाट माओवादी अध्यक्ष प्रचण्डसँग जोडिनु भएका गजुरेल त्यसयता निरन्तर रुपमा प्रचण्डकै नेतृत्वको पार्टीको बिभिन्न उच्च तहमा जिम्मेवारी वहन गर्दै आउनु भएको छ । एकता केन्द्र हुँदै २०५१ सालमा गठित माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रभावकारी भूमिका खेल्नु भएका गजुरेल शान्ति प्रक्रियापछि एकीकृत नेकपा (माओवादी)को कोषाध्यक्ष हुनु भएको उहाँ हाल नेकपा (माओवादी केन्द्र) को उपमहासचिवको जिम्मेवारीमा हुनु हुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया