शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमरेड शितलकुमारलाई पुर्व लडाकुको पत्र

आइतवार , कार्तिक ६, २०७९

जस्को घरको वास, उसैको सर्वनास भन्ने नेपालीउखान जस्तै लेखनाथले तपाईकै घरमा बसेर तपाईलाई नै विस्थापितगर्ने षड्यन्त्रका तानाबानाबुनेको तपाईले बैलैमाबुझ्न नसक्दाको परिणाम आज भोगिरहनु भएको छ क.शितलकुमार जनयुद्धको इमान्दारबफादार कार्यकर्ता र तपाईको शुभेच्छुकको तर्फबाट क्रान्तिकारी लालसलाम ! माओवादी आन्दोलनले र तपाईँहरु जस्तो नेताहरुले सिकाएको आर्दश र स्वाभिमानलाई कायम राख्न बिगत दुई वर्ष देखी मलेसियामा पसिना बगाईरहेको छु । समानतामुलक समाज निर्माण गर्ने सपना बोकेर कलिलो उमेरमै जनयुद्धमा होमिएको म र म जस्तै थुप्रै युवाहरु आज मलेसीयामै छौँ । जनवादी सत्ता ल्याउन पुर्वी नेपालका थुप्रै युद्धका मोर्चाहरुमा सँगसँगै लडेका हामी युवाहरु आज मलेसीयाको तातोमा आफ्नो परिवारका सपना बुनिरहेका छौँ । हामी स्वाभिमान सहित बाच्नकालागी दैनिक १२ घण्टा पसिना बगाईरहेका छौँ । तर पनि हामी हाम्रो देश, हाम्रो पार्टी र हाम्रो आर्दश प्रति प्रतिबद्ध छौँ, माओवादी भनेपछि गर्ब लाग्छ । त्यसैले मनका केहि विचार र भावनाहरु पोख्नकालागी यो पत्र लेखिरहेको छु । नेपाल यतिबेला चुनाबमय बनेको छ । दलहरुले प्रतिनिधीसभा तथा प्रदेशसभाको समानुपातिक तथा प्रत्यक्षतर्फको उमेदवारी टुंगो लगाईरहदा नेकपा (माओवादी केन्द्र)को उपमहासचिब तथा संसदीय राजनितिमा जिल्लाबाट दुई दुई पटक सांसद जितेर मन्त्री समेत बनिसक्नु भएको तपाईँले टिकट नपाएको समाचार सुनेर मन सारै दुखी भएको छ । अझ कुनै समय अध्यक्ष प्रचण्डको किचनभित्रको मान्छे तपाईसँग सिन्धुलीको टिकटकोबारेमा सल्लाह गर्न आवश्यक नै नठानी टिकटको निर्णय गरेको र तपाईँले पत्र मार्फत असहमति जनाउनु पर्ने अवस्था सिर्जना भएको समाचार पढ्दा त झन मन दुखेको छ । तपाईँले माओवादी प्रचण्ड एण्ड कम्पनी बनेको आरोप पनि लगाउनु भएको रहेछ । लाग्यो कुनै समय प्रचण्ड एण्ड कम्पनीको शेयर सदस्य तपाईँलाई पत्तै नदिई तपाईँको शेयर लेखनाथलाई विक्रि गरिसके छन्, अध्यक्ष प्रचण्डले । किनकी तपाईँसँग भन्दा बढी पैसा लेखनाथले नै जम्मा गरेका छन र प्रचण्डलाई पुर्योउन भ्याउँछन् । तपाईँ सिन्धुलीको कम्युनिष्ट आन्दोलनको अभिभावक हो । सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विगत देखी बर्तमान सम्म तपाईँले खेलेको भुमीकालाई नजरअन्दाज गर्न कसैले पनि मिल्दैन । तर, आज प्रचण्डले तपाईको त्यागलाई सहि मुल्याकंन गर्न नसकेको अनुभुती म र म जस्तै सबै इमान्दार कार्यकर्ताहरुलाई भएको छ । पार्टीको नेतृत्व प्रदान गर्ने विषय होस् वा संसदीय राजनीतिमा जिम्मेवारी प्रदान गर्ने विषय होस्, पटक पटक तपाईँलाई नेतृत्वले अपमान गरेको छ । राष्ट्रिय राजनितीमा महत्वपुर्ण भुमीका निर्वाह गर्न सक्ने सिन्धुलीको नेतृत्वमाथी पार्टी केन्द्रले गरेको अपमान त छदैछ जिल्लामापनि लेखनाथ झुण्डको सिकार तपाईँ बन्नु भएको छ । माकुराको बच्चाले आफ्नै माउ खाए जस्तै तपाईँले नै बोकेको ब्यक्तिले आज तपाईँकै सर्वनाश हुने गरि अपमान गरेको छ । संसदीय राजनीतिबाट नै तपाईँलाई पाखा लगाउन खोजिएको हो कि भन्ने भान हामी कार्यकर्ताहरुलाई भएको छ । पहिलो संविधानसभाको निर्वाचनमा विशेषत गंगा श्रेष्ठ लगायत बावुराम पक्षधरहरुले अपमान गरेर तपाईँलाई उमेदवार नै सिफारिस गरिदिएनन् । बिडम्बना नै भन्नुपर्छ, बरु रामकार्कीलाई सिन्धुलीबाट उमेदवार सिफारिस गरीयो, तर तपाईँको नाम सिफारिसमा पर्न सकेन । त्यसैको रिस फेर्न तपाईँले जनयुद्धको समयमा बन्दुक बम, गोला र बारुद्धसँग पौठेजोरी खेल्दै युद्धको मैदानबाट स्थापित नेताहरुलाई ठेगान लगाउन जनयुद्धको समयमा आत्मसर्मपण गरी भारतमा चौकीदारी गर्न पुगेका लेखनाथलाई सिन्धुली ल्याएर नेता बनाउनुभयो । आजफेरि तिनै राजन तपाईको लागी अभिषाप बन्न् पुगेका छन् । तपाईँले ठेगान लगाउन खोजेका गंगा श्रेष्ठ, दिर्घराज श्रेष्ठहरु राजन दाहालकै छत्रछायाँमा पुगेर चुनाब जिताउन लागीरहेका छन् । युद्धका इमान्दार नेताहरुलाई पाखा लगाउन लेखनाथ नामको अराजक डनलाई प्रयोग गर्ने तपाईँ आज तिनै अराजकहरुको घेराबन्दीमा परेको देख्दा सारै मन दुखेको छ । जस्को घरको वास, उसैको सर्वनास भन्ने नेपाली उखान जस्तै लेखनाथले तपाईँकै घरमा बसेर तपाईँलाई नै विस्थापित गर्ने षड्यन्त्रका प्रपन्च रचेको कुरा हामी जस्ता कार्यकर्ताहरुले त बुझेका थियौँ । तर तपाईँले बैलैमा बुझ्न नसक्दाको परिणाम आज भोगिरहनु भएको छ । प्रचण्ड एण्ड कम्पनीको मुख्य शेयर सदस्य तपाईँ अब राजन एण्ड कम्पनीको शेयर सदस्यमा समेत नअट्ने अवस्था आएको देख्दा मन सारै दुखेको छ । जिल्लामा राजन दाहालले पालेका भाडाका हनुमानहरु जस्को आन्दोलनमा कुनै योगदान छैन, न त आन्दोलनको इतिहास नै बुझेका छन्, उनीहरु हरिबोललाई जमिनबाटै सक्नुपर्ने र कार्वाहीसम्म गर्नुपर्ने माग गरिरहेका छन् । हरिबोल र आन्दोलनको इतिहासको रक्षा गर्न खोज्ने कार्यकर्ताहरुले जति तपाईँको रक्षा गर्न खोजेपनि राजनका भक्तहरुले भ्रम छरिरहेका छन । के गर्नु कमरेड, अघिल्लो स्थानीय तहको चुनाबमा श्रीमतीलाई चुनाब लडाउन उद्धत बन्नुभयो, यसपालि तपाईँले भनेका कोहि कसैले टिकट नै पाएनन् । राजनकै हालिमुहाली चल्यो । तपाईको केहि चलेन । चलोस् पनि कसरी लेखनाथले बिचार, राजनिती र आर्दश सहितको पार्टी बनाएकै थिएन । ग्याङ बनाएको थियो । त्यो ग्याङ तपाईँले चलाउन सक्ने कुरै भएन । जिल्लामा बिकास आयोजना, स्थानीय सरकार, प्राकृतिक श्रोत साधनको चरम दुरुपयोग गर्दै आर्थिक श्रोत निर्माण गरि प्रचण्डलाई समेत रिझाउन पुग्ने लेखनाथले तपाईँको हुर्मत लिदै अपमान गर्नुसम्म गरेका छन् । राजन के हो भन्ने कुरा प्रचण्डलाई तपाईँले बेलैमा बुझाउन सक्नु भएन त्यसैको परिणाम आज प्रचण्डको लागी हरिबोल भन्दा प्यारो राजन बन्न पुग्यो । सामाजिक संजाल हेर्दा अहिले सिन्धुलीको माओवादी नेता हरिबोल हो की राजन ? भन्ने प्रश्न उब्जीएको छ । हरिबोलले बनाएको माओवादी हरिबोल नभएपनि चल्न सक्छ तर राजनले बनाएको माओवादी राजनसँगै सकिन्छ भन्ने चर्चा हुनथालेको छ । आवरणमा नेता जस्तो देखीनु र भित्रभित्र सबै खालका आर्थिक श्रोतहरु आफ्नो नियन्त्रणमा लिने र अपराधिक तवरबाट काम गर्ने राजनको बानी तपाइँले सुधार्न सक्नु हुन्छ वा हुँदैन भन्ने आम जिज्ञासाको विषय हो । सुन्दर जंगलमा बनमारा आयो भने फाड्ने चलन छ, त्यसरी नै यसपटक सबै इमान्दार कार्यकर्ताहरु लागेर लेखनाथलाई बनमारा जस्तै फाड्नु पर्छ नत्र सत्तिसालका जंगलहरु बनमाराले ढाक्ने छ । सत्तिसाल भएको जंगलमा बनमारा देखेर रमाउने अध्यक्ष प्रचण्डलाई पनि देखाउनु पर्ने छ । यो काम गर्न सकियो भने प्रचण्ड एण्ड कम्पनीपनि जमिनमै आईपुग्छन्, बास्तविकता देख्छन् । क. हरिबोल हामीले ब्यक्ति होइन आन्दोलन बचाउनु पर्छ । खहरे आउछ जान्छ तर नदिकहिल्यै सुक्दैन । लेखनाथ झुण्ड खहरे हो । यो खहरेलाई सिन्धुलीका हजारौं इमान्दार कार्यकर्ता, शहीद परिवार र घाइते योद्धाहरु माथि मजाक गर्न दिनु हुँदैन । तपाईँको साथमा राजनिती, विचार र सिद्धान्त प्रति प्रतिबद्ध हजारौँ कार्यकर्ताहरु छन् । अराजकता नेतृत्व र अवसरवादी कार्यकर्ताहरुबाट आन्दोलन सहि दिशामा पुग्न सक्दैन । त्यसैले तपाईँ जस्तो इमान्दार नेतृत्वले समग्र आन्दोलनको बारेमा सोच्ने हो । आशा छ तपाईँले त्यो कार्यभार पुरा गर्नुहुनेछ ।

उहि तपाईँको शुभचिन्तक (पुर्व लडाकु) क.राकेश, सिन्धुली (हाल मलेसीया)

सम्बन्धित विषय:

प्रतिक्रिया