काठमाडौँ – पुस २०७८ मा नेकपा माओवादी केन्द्रको महाधिवेशन हलमा सत्यनारायण भगतले गिरिराजमणि पोखरेलले महोत्तरीमा शहीद रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामाको सालिक राख्ने तयारी गरेको आरोप लगाए ।
आरोप त्यतिमा मात्र सीमित भएन र पोखरेलमाथि अपराधीकै संज्ञा दिइयो । त्यही आक्रोशपछि पोखरेलले एक दिन महाधिवेशनको बन्दसत्र नै बहिष्कार गरे । भगतले नेता पोखरेलमाथि त्यति गम्भीर आरोप लगाउने हिम्मत नेता मातृका यादवको आडभरोसामा जुटाएका थिए ।
यादव माओवादीभित्र सधैँभरि नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलको विपक्षमा उभिइरहेका हुन्छन् । महाधिवेशनमा पोखरेल र यादव समूहबीच जस्तो घोचपेच र भनाभैरी चल्यो, त्यसको प्रत्यक्ष प्रभाव ३० वैशाख ०७९ को स्थानीय चुनावमा पर्यो । मधेस इञ्चार्ज गणेश साहको निर्णय पोखरेल र यादव दुवै समूहले नमान्ने स्थिति बन्यो । एकले अर्को समूहलाई टिकट वितरणमै रोक्ने, त्यति गर्न नसके चुनावमा बागी उठाएर भए पनि हराउने नीति लिए ।
त्यसको असर थियो, २१ पालिका जितेको माओवादी ९ पालिकामा झर्नु । त्यसको आक्रोश प्रचण्डले कर्णाली पुगेर पोखे । १७ भदौ ०७९ प्रचण्डले सुर्खेतमा भने, ‘धेरैजसो नेताहरूले भित्र–भित्रै गुट बनाए । भन्ने बेला माओवादी केन्द्र नै भनिरहे । त्यसैले हामीले स्थानीय तह निर्वाचनमा पहाडभन्दा धेरै तराई र मधेस प्रदेशमा हार्यौँ ।’ जुन सन्दर्भ पोखरेल, यादव र साहको गुटसँग जोडिएको थियो ।
मधेसको चुनावी परिणामका लागि पोखरेल, यादव र साहका तीनवटा गुटको झैझगडाले पार्टीलाई जसरी क्षति पुर्यो, त्यस्तै क्षति पार्टीभित्र रहेको वर्षमान पुन र जनार्दन शर्मा गुटबाट भइरहेको छ । एकले अर्कोको अस्तित्व अस्वीकार गर्ने मात्र होइन, बद्ख्वाइँ गर्नसमेत लाग्छन्, पुन र शर्मा । जस्तो, ऊर्जामन्त्री पुन भएको बेलामा प्रचण्डकै निर्देशनमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा अलमल गरे, त्यसको कारण घिसिङको सम्बन्ध शर्मासँग बढ्ता जोडिनु थियो । जुन बेला प्रधानमन्त्री केपी ओली प्राधिकरणमा घिसिङलाई नल्याउने मुडमा पुगे, अनि मन्त्री पुनले सिफारिस गरे । भर्नर महाप्रसाद अधिकारी हटाउने प्रकरणमा पुनले सार्वजनिक रूपमै विरोध गरेका थिए ।
यी सबै परिदृश्य देखेका अध्यक्ष प्रचण्डले १७ भदौ ०७९ मा कर्णाली पुगेर ‘गुटै गुटले हैरान छु, माओवादी पार्टी नै विघटन गर्दिऊँजस्तो लाग्छ,’ सम्म भने ।
माओवादीभित्रकै केही नेताहरूले आफू प्रचण्ड भनेर दाबी गरेको पनि उनले बताए । उनले कार्यकर्तालाई गुट उपगुट रोक्न पहल गर्न सक्नुहुन्छ भन्दै सोधेका थिए । उनले भने, ‘माओवादी कमजोर हुनुको कारण यही गुट–उपगुटको स्वार्थ नै हो । गुट रोक्न कार्यकर्ताले पहल गर्न सक्नुहुन्छ ?’ कर्णालीमा नेताको कारणले नभएर कार्यकर्ताको कारणले आएको उनले बताए । उनले भने, ‘त्यस्ता स्वार्थीलाई हटाउन झण्डा उठाउन सक्नुहुन्छ ? मलाई नेताहरूले भन्दा कार्याकर्ताहरूले बोलाएर आएँ ।’
माओवादी अध्यक्ष प्रचण्डले भनेझैँ माओवादीमा कति गुट/उपगुट छन् ? करिब ३५ वर्षभन्दा बढी पार्टीको एकल नेतृत्व गरेका प्रचण्डलाई नेतृत्वका लागि कसैले चुनौती नदिए पनि गुटको झमेला भने सधैँभरि ब्यहोर्दै आएका छन् ।
शिलापत्रबाट साभार