शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एमाले सिन्धुलीका नेताद्वारा बानेश्वरमा सरकारी जमीन कब्जा

बुधवार , भाद्र १५, २०७९

काठमाडौं – नेकपा (एमाले)का नेता हेमबहादुर घिसिङले काठमाडौंमा आधा रोपनीभन्दा धेरै सरकारी जमीन हडपेर बसेको खुलासा भएको छ । काठमाडौं महानगरपालिका– १० धोबीखोलाको देवीनगरमा एमाले सिन्धुलीका नेता हेमबहादुर घिसिङ र भू–माफिया ईन्द्रकुमार चाम्लिङले हडपेको खुल्न आएको छ ।

काठमाडौं महानगरपालिका–१० का अनुसार एमाले नेता घिसिङले काठमाडौं महानगरपालिका–१० सिट नम्बर १०२–११०६–२२ को कित्ता नम्बर ६६ र १०७ मा पर्ने सरकारी÷सार्वजनिक जग्गा हडपेर घर÷टहरा बनाएका छन् । एमालेका नेता घिसिङले लकडाउनको मौका छोपेर उक्त सरकारी/सार्वजनिक कित्ता उल्लेख जग्गामा ४ तले पक्की घर बनाएको वडा कार्यालयले जनाएको रिपब्लिक दैनिकले खवर लेखेको छ ।

सिन्धुली जिल्लाको पूर्व जिल्ला विकास समिति उप–सभापति समेत रहेका एमाले नेता घिसिङले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश पहाडी र एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख समेत रहेका योगेश भट्टराईको संरक्षणमा सरकारी जग्गामा संरचना बनाएको आरोप छ ।

सिन्धुलीबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित पहाडी सामान्य प्रशासनमन्त्री भएको बेला पहाडीले उनकै आडमा सरकारी जग्गामा संरचना बनाउने आँट गरेका हुन् । घिसिङ एमालेका सचिव योगेश भट्टराईका विश्वासपात्र मानिन्छन् ।

नेता पहाडीले नेता घिसिङलाई संरक्षण गरेका कारण लकडाउनमा कित्ता नम्बर ६६ र १०७ मा रहेको सार्वजनिक जग्गा हडपेर संरचना बनाएको खुल्न आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सरकारी किटान गरेको उक्त जग्गामा एमाले नेता घिसिङले घर बनाएर भाडा खाइरहेका छन् ।

एमाले पार्टीबाट टिकट लिएर सिन्धुलीबाट चुनाव लड्न लागेका नेता घिसिङले आफ्नो जग्गा हुँदाहुँदै सरकारी जग्गा हडपेका हुन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेललाई समेत पछि पार्दै एमाले नेता घिसिङले सरकारी जग्गा हडपेका हुन् । विवादमा परेर फस्ने डरले उपाध्यक्ष पौडेलले बालुवाटारको सरकारी जमीन सरकारलाई फिर्ता गरेका थिए ।

मधेश प्रदेशका पूर्व प्रमुख डा.राजेश झा अहिराजलाई समेत नापीको फिल्डबुकमा धोबीखोला उल्लेख भएको जग्गा बेच्न सफल भएका एमालेका नेता घिसिङले सरकारी जग्गामा संरचना बनाएको देखिएको छ ।

एमालेका नेता समेत रहेका अहिराजले नेता घिसिङमार्फत उनको छोरीको नाममा रहेको जग्गा किनेको दाबी गरेका थिए । काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीले सरकारी जग्गा हडपेर घर बनाउने एमाले नेता घिसिङलाई सप्रमाण उपस्थित हुन पत्र काटिसकेका छन् ।

घिसिङ वडा कार्यालयमा उपस्थित भएर प्रमाण पेश गर्नुको साटो सरकारी जमीन पछाउन शक्ति केन्द्र धाइरहेका छन् ।

एमालेका नेता घिसिङले कब्जा गरेको सरकारी जमीन छाड्न नमानेपछि वडा कार्यालय र स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई सम्झिएका छन् । घिसिङलाई बालेनले मात्रै साइजमा ल्याउन सक्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया