शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

धरान मेयर हर्क साम्पाङको राजीनामा माग

सोमवार , भाद्र १३, २०७९

काठमाडौँ –सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा माग्नु भएको हो ।

मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ । राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ । केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गर्नु भएको थियो ।

“सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाउनु भएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ ।

मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ ।

प्रतिक्रिया