काठमाडाैं, १२ भदौ - भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३एमा रहेको प्रसिद्ध ट्विन टावर भत्काउने सबै तयारी पूरा भएको छ । आइतबार दिउँसो २:३० बजे मात्र १२ सेकेन्डमा यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
रियल इस्टेट कम्पनी सुपरटेकले यी टावरहरू भत्काउनुअघि धेरै क्रेन सो स्थानमा पुगिसकेका छन्। त्यहाँका प्रहरी भवन भएको ठाउँ खाली गर्न जुटेका छन्। धेरै गैरसरकारी संस्थाहरू भवन नजिकै बस्ने कुकुरहरूलाई बचाउन एकसाथ काम गरिरहेका छन्।
एक गैरसरकारी संस्थामा आवद्ध एक कर्मचारीले करिब ३० देखि ३५ कुकुरलाई स्थानान्तरण गरिएको जानकारी दिए। उनका अनुसार सबै कुकुरलाई बचाउने प्रयास भइरहेको छ ।
एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका थिए। यी ३० तले भवनलाई ट्विन टावर पनि भनिन्छ। यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ।
भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हुनेछन् । यी नोएडाको घना बस्तीमा अवस्थित छन्। यो भवन भत्काउन लगभग ३७०० केजी विस्फोटक पदार्थको प्रयोग गरिने छ। सावधानीलाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न पनि भनिएको छ ।
यहाँ वरपर बसोबास गर्ने जनताको मनमा अनेक किसिमका प्रश्न उब्जिएका छन् । साथै उनीहरुलाई सुरक्षाको डरले पनि सताइरहेको छ । बीबीसी