काठमाडौँ – चाबहिलका जुत्ता व्यापारी ३६ वर्षीय राकेश शर्मा (परिवर्तित) त्यतिवेला झस्किए, जब सुन्दर युवतीले ‘हनी ट्रयाप’मा पारेको भेउ पाए । युवतीको चक्करमा लाग्दा उनले झन्डै ४० लाख रुपैयाँ गुमाए ।
सिन्धुलीको कमलामाई नगरपालिका– ६ की ३१ वर्षीया कल्पना बस्नेतलाई उनले पसलमै भेटेका थिए । कल्पना आकर्षक थिइन् । पहिलो भेटमै दुईबीच लामो कुराकानी भयो । कल्पनाले घर पुगेर सामाजिक सञ्जाल फेसबुकमा शर्मालाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन् । उत्साहित हुँदै उनले ‘रिक्वेस्ट’ स्वीकार गरे । दुईबीच रंगीन कुराकानी चल्यो । कल्पनाले उनलाई ‘डेट’को प्रस्ताव गरिन् । उनले तुरुन्तै स्वीकार गरे । काठमाडौंकै चलेको रेस्टुरेन्टमा भेट्ने निधो भयो ।
उत्साहित राकेश भनेकै ठाउँमा भेट्न पुगे । रेन्टुरेन्टको एकान्त टेबुलमा बसे । कुराकानी जति लम्बिँदै गयो, कल्पना उति नै खुल्दै गइन् । वातावरण ‘क्लाइमेक्स’तर्फ लम्किँदै थियो, त्यहीवेला ‘श्रीमान् हुँ’ भन्दै सिन्धुली कमलामाई– ६ कै ३१ वर्षीय कृष्णकुमार खड्का अगाडि आइपुगे । राकेश झसंग भए । त्यसपछि उनीहरूबीच विवाद भयो । जब राकेश घर पुगे, त्यसपछि युवतीको ‘ब्ल्याकमेल’ सुरु भयो । कल्पनाले राकेशसँग ४० लाख रुपैयाँ मागिन् । बल्ल उनलाई आफू युवतीको ‘हनी ट्रयाप’मा परेको महसुस भयो ।
कल्पनाले प्रहरीमा उजुरी गरिसकेको राकेशलाई भनिन् । छलफलका लागि इन्स्पेक्टरले पटक–पटक कार्यालय बोलाएको भन्दै एक युवासँग गरेको टेफिलोन संवाद फोन राकेशलाई सामाजिक सञ्जालबाट पठाइन् । बिलखबन्दमा परेका राकेश १० लाख रुपैयाँ दिन तयार भए । तर, युवती मान्न तयार भइनन् । इन्स्पेक्टरले पटक–पटक कार्यालय बोलाएको भन्दै एक युवासँग गरेको टेफिलोन संवाद राकेशलाई तारन्तार पठाउन थालिन् ।
तनावमा आएका राकेश काठमाडौं उपत्यका उपराध अनुसन्धान कार्यालय पुगे । घटनाको बेलीबिस्तार लेखेर जाहेरी दिए । जब प्रहरी अनुसन्धानमा जुट्यो, कल्पनाको धन्दा नै ‘हनी ट्रयापिङ’ रहेको खुल्यो । जसमा उनले श्रीमान् कृष्णकुमारलाई समेत सामेल गराएकी थिइन् । धन्दाका लागि नक्कली प्रहरी निरीक्षक भने सिन्धुली कमलामाई नगरपालिका– ४ का २८ वर्षीय सञ्जय कार्कीलाई बनाएकी थिइन् ।
धन्दामा संलग्न तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले कल्पनाले धन्दाकै रूपमा ‘हनी ट्रयापिङ’ सञ्चालन गर्दै आएको बताए । ‘राकेशसँग उनीहरूले चालीस लाख रुपैयाँ मागेको खुलेको छ । उनीहरूले ‘हनी ट्रयापिङ’ लाई धन्दाकै रुपमा सञ्चालन गर्दै आएको र धेरैजना पीडित भएको अनुसन्धानबाट खुलेको छ । तर, पीडितहरू भने सम्पर्कमा आएका छैनन् । अनुसन्धान जारी छ,’ उनले भने ।यो समाचार नयाँ पत्रिकामा छ ।