शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमलामाई नगरको उपमेयरमा तिमल्सिनालाई उठाउने तयारी

बुधवार , बैशाख १४, २०७९

सिन्धुली – गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवार दिर्घराज श्रेष्ठको उम्वेदवारी खारेज भएपछि बैकल्पिक उम्मेदवार अगाडि सार्न गृहकार्य भइरहेको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट उपमेयरमा उम्मेदवारी दिनु भएका मोदनाथ तिमल्सिनालाई वैकल्पिक उम्मेदवार बनाउने तयारी भइरहेको माओवादी केन्द्र सिन्धुलीका इञ्चार्ज राजन दाहालले जानकारी दिनुभयो ।

विकल्पको रुपमा गठबन्धनबाटै जसपाका उम्मेदवारलाई विकल्पका रुपमा अगाडि सार्न सकिने उहाँको भनाइ छ । “गठबन्धन दलबाटै जसपाबाट साझा उम्मेदवारी दिनु भएको छ,” दाहालले भन्नुभयो, “यदि उहाँको खारेज भयो भने हामी गठबन्ध दलभन्दा बाहिर जाँदैनौं । हामी गठबन्धनको बैठक बस्छौं र गठबन्धन दलकै उम्मेदवारलाई अगाडि सार्छौं ।’ हालै जसपाबाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बन्नु भएका दीर्घराज श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको हो । जसपाको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सत्ता गठबन्धनबीच भागबन्डा हुँदा कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएका थिए । जसपा सिन्धुलीका बागमति प्रदेश सदस्य दिपेश थापाले राजनीति घुमिरहने चक्र भएकाेले सबैको पालो आउने तर धैर्यता आवश्यकता रहेकाे बताउनुभयाे । जसपाले उपमेयरमा समर्थन पाउदा उसले आफ्नो मेयर उम्मेद्बार फिर्ता लिन सक्ने सम्भावना रहेको बुझिएको छ ।

वडा अध्यक्ष र सदस्यहरुको पनि उम्मेदवारी दर्ता भएन

मुख्य निर्वाचन अधिकृतको कार्यालय कमलामाई नगरपालिका सिन्धुलीमाडीका अनुसार प्रक्रिया नपुग्दा वडा अध्यक्ष र वडा सदस्यहरूको पनि उम्मेदवारी खारेज भएको छ । उम्मेदवारी खारेज हुनेहरुमा ४ नम्बर वडा अध्यक्षका उम्मेदवार राप्रपाका विष्णुकुमार श्रेष्ठ र ११ नम्बर वडा अध्यक्षका उम्मेदवार राप्रपाकै मेगबहादुर ठकुरी छन् । श्रेष्ठको प्रस्तावकको विवरण नमिलेको र ठकुरीको समर्थकको विवरण नमिलेकोले उम्मेदवारी दर्ता हुन सकेन । यसैगरी वडा सदस्यहरुमा सोम माया कार्की, बीरबहादुर माझी, ढाल बहादुर विक, लक्ष्मण सुनुवार, उज्जवल कोइराला, टिका प्रसाद घिमिरे र मान्दो सिं भोलानको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया