शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विपी राजमार्गमा अवरोध, ठेकेदार कम्पनिका प्रमुख प्रहरीको नियन्त्रणमा

आइतवार , बैशाख ४, २०७९

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सडक खण्डमा आइतबार बिहान देखि सडक अवरुद्ध गरिएको छ । शनिबार कमलामाई नगरपालिका ४ स्थित ढुंग्रेबासचोक र धुराबजार जोड्ने निर्माणाधिन पुलकालागि खनिएको खाल्डोमा बालक डुबेर मृत्यु भएपछि ठेकेदारलाई कार्वाही र पीडितलाई न्यायको सुनिश्चितताको माग गर्दै स्थानियले राजमार्ग अवरुद्ध गरेका हुन् । ठेकेदारको लापरबाहीले पुल निर्माणका बेला खनेको खाल्डोमा डुबेर बालकको ज्यान गएको भन्दै स्थानीयले ठेकेदारलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बीपी राजमार्ग अवरुद्ध गरेका छन् । ढुंग्रेवासचोक र २ नम्बर गेटमा बालकका आफन्त र स्थानीयले सडकमा टायर बाल्नुका साथै ढुंगाको अवरोध राखेर यातायात बन्द गरेका छन् । यातायात बन्दका कारण लामो तथा छोटो दुरीका साधन चलेका छैनन् ।

धुराबजार–ढुंग्रेवास जोड्ने ग्वाङखोलामा भर्खरै निर्माण सुरु भएको पुलको जग राख्न खनेको खाल्डोमा जमेको दहमा पौडी खेल्दा शनिबार १२ वर्षीय सिरास भुजेलको डुबेर मृत्यु भएको थियो । ढुंग्रेसवास पुछारमा राखिएको बालकको शव पीडित पक्षले उठाएका छैनन् । मृतक भुजेलका काका नृप भुजेलले घटनास्थलमै ठेकेदार ल्याएर कारबाहीको ग्यारेन्टी र पीडितलाई न्यायको सुनिश्चितता नगरेसम्म शव नबुझ्ने र सडक नखुल्ने बताएका छन् । निर्माणस्थलमा तारजाली नलाएका कारण हदैसम्मको लापरबाहीले गर्दा बालकको डुबेर मृत्यु भएको भन्दै उनीहरुले कडा कारबाहीको माग गरेका छन् । निर्माणको जिम्मा लिएको सारस विल्डर्सका प्रमुख रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पीडित पक्षसँग वार्ता गरी शव जिम्मा लगाउने अवरुद्ध सडक खुलाउने पहल भइरहेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो ।

निर्माणस्थलमा सुरक्षा अपनाऊ(सम्पादकिय): शनिबार सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित ग्वाङखोलामा निर्माणाधिन पुलकालागि खनिएको खाल्टोमा डुबेर एक बालकको मृत्यु भएसँगै निर्माण कार्यमा अपनाईने कमजोर सुरक्षा सावधानिप्रति असन्तुष्टि सतहमा आएको छ । कुनै पनि निर्माण कार्यको ठेक्कामा स्वास्थ्य र सुरक्षा अधिकृत नियुक्त गर्नुपर्ने सामान्य नियम हुन्छ । तर, जिल्लाका निर्माणाधिन योजनाहरुमा ठेकेदार कम्पनिले सो पदमा कर्मचारी भर्ती गरेपनि कागजी प्रक्रियामै सिमित हुने गरेको छ । कम्तीमा निर्माण कार्यमा संलग्न कामदार, कर्मचारी, बटुवा र प्रभावित सर्वसाधारणको न्यूनतम सुरक्षा निर्माण अबवधिभर के/कसरी गर्न सकिन्छ, सम्भावित दुर्घटनास्थल कुन कुन हुन्, दुर्घटना भइहालेमा कसरी समाधान गर्ने भन्ने कार्यविधि तयार पारेर उक्त कार्यविधिलाई निर्माण अवधिभर स्वास्थ्य सुरक्षा अधिकृतको निरन्तर निगरानीमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । निर्माणस्थलमा निर्माणको अवधि, निर्माण कम्पनीको विवरण, परामर्शदाता, अन्य सरोकारवालाको प्रस्ट जानकारी सहित सुरक्षा सावधानिका साइनबोर्ड सर्वसाधारणले देख्नेगरी राखि सबैलाई सचेत गराइरहनुपर्छ । तर, जिल्लामा संचालित अधिकांश आयोजनाहरुमा अत्यावश्यक सूचना नराखि निर्माण कार्य अघि बढाउदा जोखिम बढेको छ ।

सिन्धुलीमा संचालित साना देखि राष्ट्रिय गौरवको आयोजनामा प्रभावित सर्वसाधरणको सुरक्षामा निर्माण कम्पनिले सावधानि अपनाउन कञ्जुस्याईँ गरिरहेका छन् । निर्माणस्थलमा सर्वसाधरणकालागि न्युनतम संदेशमुलक सूचना बोर्डहरु नराखिदा जोखिम बढेको छ । तसर्थ, जिल्लामा संचालित आयोजनाहरुको निरिक्षणमा जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । अन्यथा, निर्माणस्थल दुर्घटनाको मुहान बन्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया