सिन्धुली¬– लागुऔषध सहित सिन्धुलीका दुईजना पक्राउ परेका छन् । महोत्तरीबाट प्रहरीले लागुऔषधसहित कमलामाई नगरपालिका वडा नं ४ धुराबजारका १९ बर्षीय रबि विक र कमलामाई नगरपालिका वडा नं ५ का २१ बर्षीय सुमन कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
गौशाला तर्फबाट बर्दिबासतर्फ आउदै गरेको टेम्पोमा सवार केही व्यक्तिहरुले अबैध लागुऔषध बोकी ओसारपोसार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ माईस्थान स्थित चेकप्वाइन्टमा ज.१ ह १९३९ नम्बरको अटो टेम्पोलाई रोकेर खानतलासी गर्दा टेम्पुको पछाडी पट्टीको डिक्कीमा लुकाई छिपाई बोकी ल्याएको अबैध लागुऔषध बरामद भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्लोरोफेनारामाइन मेलेट सिरप एक्सीप्लोन १०० एमएलको ५ बोत्तल, नाइट्राभेट–१० लेखिएको १९ चक्की र ट्रमाडोल क्याप्सुल ८ चक्की बरामद भएको हो । लागुऔषधसहित पक्राउ परेका विक र श्रेष्ठलाई टेम्पुसहित नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।