शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ दक्षिण भारतीय फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको 'आइटम डान्स' (हेर्नुस भिडिओ)

आइतवार , माघ ९, २०७८

काठमाडौं, ९ माघ - नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म 'थिरीमाली' को आइटम गीत सार्वजनिक भएको छ।

मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ।

तीन मिनेट ५३ सेकेन्डको गीत 'सायना मुभिज' को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुनिधि चौहानको स्वरमा रहेको 'रंग-बिरंगी' बोलको गीतमा स्वस्तिमा भारतीय आइटम गीतको शैलीमा नाचेकी छन्। यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन्।

जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्।

केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरमा नेपालका थुप्रै ठाउँका दृश्यहरू देख्न सकिन्छ। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ।

गीतमा बाहेक फिल्ममा स्वस्तिमाको भूमिका के हो भन्नेबारे प्रस्ट छैन। तर फिल्म रेट गर्ने आइएमडिबीले थिरिमालीका मुख्य कलाकारको नाम सूचीमा स्वस्तिमा खड्काको पनि नाम उल्लेख गरेको छ।

ट्रेलरमा अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ। कमेडी जनराको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ।

प्रतिक्रिया