शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमल थापाको त्यो पोस्टले रेखालाई महामन्त्रीमा हरायो,(भिडियो हेर्नुस)

सोमवार , मंसिर २०, २०७८

काठमाडौं २० मंसिर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी हुँदा उनकै प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी नायिका रेखा थापा पराजित भइन्। कमल थापालाई २२७ मतान्तरले हराउँदै लिङ्देन अध्यक्ष पदमा विजयी हुँदा रंगमञ्चबाट राजनीतिमा प्रवेश गरेकी थापाले विजयी उम्मेदवार कुन्तीकुमारी शाहीले ३६८ मत कम ल्याइन्। शाहीले २००८ मत ल्याउँदा थापा १६४० मतमा सीमित भइन्।

हुन त रेखाको लामो राजनीतिक इतिहास छैन, तैपनि मतपरिणाम सार्वजनिक हुनुअघिसम्म रेखा विजयी हुन सक्ने आकलन गर्नेहरू थुप्रै थिए। रेखलाई पराजित हुन पराजित अध्यक्ष कमल थापाको ट्विटले पनि सहयोग गरेको भन्ने राप्रपाका नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि छन्।

आखिर पराजित कमलको कुन पोस्टले रेखालाई पराजयको कित्तामा उभ्यायो त? कमल थापाले दुई दिनअघि मात्र सामाजिक ट्विटरमा एउटा भिडियोलाई ‘कोट ट्विट’ गरेका थिए। त्यही ‘कोट ट्विट’ले रेखालाई राप्रपा महामन्त्री बन्नबाट रोक्न कारक भएको बताउँछन् एक जना महाधिवेशन प्रतिनिधि।

‘महाधिवेशन सुरु भैसकेपछि अध्यक्षजस्तो व्यक्तिबाट रेखा थापालाई नङ्ग्याउने उद्देश्यले जुन भिडियो पोस्ट भएको छ, त्यसले उहाँलाई ठूलो क्षति पुर्‍याएको देखिन्छ। राजेन्द्र लिङदेनलाई भोट दिएको म आफैले उहाँलाई भोट दिइनँ,’ एक महाधिवेशन प्रतिनिधिले भने। उनका अनुसार उक्त भिडियोसहितको कोट ट्विटले राप्रपाका धेरै कार्यकर्तालाई भोट दिनुअघि एकपटक सोच्न बाध्य बनायो।

कमल थापाले पोष्ट गरेको सो भिडियोमा ‘राजतन्त्र कि गणतन्त्र’ भन्ने प्रश्नमा रेखा थापाले ‘गणतन्त्र’ भन्ने जवाफ दिएकी थिइन्। यद्यपि यो पुरानो भिडियो हो। ग्लामर गफ (२१ मिनेटपछि) कार्यक्रममा प्रकाश सुवेदीसँगको कुराकानीका क्रममा गत वर्ष रेखाले गणतन्त्र रोजेकी थिइन्। सोही भिडियोको क्लिप बनाएर शशांक शमशेर थापाले गरेको ट्विटलाई कमलले ‘हाहा.. नो कम्मेन्ट’ भन्दै शुक्रबार कोट ट्विट गरेका थिए। यही भिडियोलाई कमल थापाले फेसबुकमा समेत पोस्ट गरेका छन्।

‘पार्टी राजसंस्थासहितको हिन्दू राज्यको वकालत गर्ने, हामी राजतन्त्रको माग गर्दै आन्दोलन गर्ने तर पार्टीको नेतृ चाँहि गणतन्त्रको वकालत गर्ने? यस्तो भएपछि कसरी भोट दिन मनले मान्छ,’ अर्का एक महाधिवेशन प्रतिनिधिले भने। रेखा थापाजस्ता स्वार्थी व्यक्ति पार्टीमा स्थापित भएको अवस्थामा पार्टी बद्नाम हुने, एजेन्डा कमजोर हुने र जनताको नजरमा थप गिर्ने अवस्था सृजना हुने अवस्था आउन सक्ने ती महाधिवेशन प्रतिनिधिको चिन्ता थियो।

राप्रपाका एक नेताका अनुसार रेखा थापाले गणतन्त्रको पक्ष लिएको यो भिडियो कमल थापा जतिको नेताबाट पोस्ट नभएको भए उनी निर्वाचित हुने सम्भावना बलियो रहेको थियो। यो भिडियोले कम्तीमा ४/५ सय भोट काटेको उनको आकलन छ। रेखाले थप ४ सय भोट रेखा थापाको पक्षमा आएको भए उनी महामन्त्री निर्वाचित हुने थिइन्। थापाले १६४० त ल्याएकी थिइन् । उनलाई पराजित गर्ने कुन्ती शाहीले २००८ मत पाएकी छिन्।

फेसबुकमा कम्मेन्ट गर्ने अधिकांशले हार्ने निश्चित भएपछि देखाएको हर्कत भनेर टिप्पणी गरेका छन्। केहीले भने एक वर्ष पहिलेको भिडियो हालेर उचित नभएको भन्दै कमल थापालाई प्रतिप्रश्न गरेका छन्।

प्रतिक्रिया