सिन्धुलीमा दसैँको मासु भाग लगाउने क्रममा विवाद हुँदा एकजनालाई चिर्पट प्रहार गरि हत्या गरिएको छ । कमलामाई नगरपालिका वडा नम्बर ११ छतिवन बस्ने २१ वर्षीया बिक्रम लामगादेलाई चिर्पट प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिनुभएको छ ।
बुधबार फूलपातीको अवसरमा गाउँमै स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा बिक्रममाथि दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा बुधबार दिउँसो २ बजे मृत्यु भएको एसपि थपलियाले बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् । थप अनुसन्धान भइरहेको एसपि थपलियाले बताए ।