बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेपाल समूहले देउवालाई विश्वासको मत दिने

बुधवार , आषाढ ३०, २०७८

काठमाडौँ,, ३० असार- नेपाल कम्युनिस्ट पार्टी एमालेमा पछिल्लो समय देखिएको विवादका कारण नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । एमाले विवादकै कारण दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको छ ।

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि ३ साउनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाइँदै छ । यतिमात्र होइन, सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

संवैधानिक प्रावधानअनुसार अब प्रधानमन्त्री देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । देउवालाई विश्वासको मत पाउनका लागि संसदमा माधवकुमार नेपाल पक्षका नेताहरुले पनि मतदान गर्नु पर्ने हुन्छ । अन्यथा उनले विश्वासको मत पाउने छैनन् । उनले विश्वासको मत नपाएको खण्डमा फेरि प्रतिनिधिसभा विघटन हुनेछ र देशमा मध्यावधि निर्वाचन हुनेछ ।

पदभार सम्हालेको दोस्रो दिन नै देउवा अब संसदमा आफूले विश्वासको मत पुर्याउन लाग्न थालेका छन् ।

यसैको नतिजा हो, बुधबार देउवा कोटेश्वर पुगेर नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्नु ।

बुधबार जब देउवा नेपाल भेट्न कोटेश्वर पुगेका थिए, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगिसकेका थिए । उनी बालकोट पुगेर जे अभिव्यक्ति दिएका छन्, त्यसले एमालेमा नयाँ तरंग ल्याएको छ ।

‘अब माधवकुमार नेपाल एमालेमा आउने कल्पना पनि गर्न सकिँदैन, उनका लागि एमालेमा ठाउँ छैन,’ बालकोटमा ओलीले यसो भनिरहँदा एमालेका नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा थिए ।

‘हामी अबको परिस्थितिलाई कसरी अगाडि बढाउने र के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ, दिउँसो पनि छलफलमा नै थियौँ,’ नेपाल पक्षका एक नेताले बुधबार दिउँसो भनेका थिए, ‘कार्यदलले सुझाएका १० बुँदालाई ओली पक्षले अब अस्वीकार गरेको छ, औचित्य सकिएको बताउन थालेको छ । यस्तो परिस्थितिमा के गर्ने भन्नेबारे हामीले छलफल गर्न थालेका हौँ ।’

उनीहरुको यो छलफल नसकिँदै बुधबार नै देउवा कोटेश्वर पुगेका हुन् । कोटेश्वरमा माधवकुमार नेपालसँग उनी छलफलका लागि पुग्दा नेपाल पक्षधर विरोध खतिवडा पनि छलफलमा सहभागी थिए ।

आजको भेटमा देउवा र नेपालबीच के छलफल भयो त भन्ने प्रश्नमा खतिवडाले भने– देशलाई कसरी राम्रो बनाउने र अबको यात्रा के भन्नेबारे छलफल भयो ।

हामीले स्थायी सरकार र प्रतिनिधिसभाको पूर्ण कार्यकाल चाहेका छौँ, हामी त्यही अनुसार गर्छौँ । खतिवडाले स्पष्ट रुपमा आफूहरुले विश्वासको मत दिने उल्लेख नगरे पनि उनको आशयअनुसार बुझ्न सकिन्छ कि माधवकुमार नेपाल पक्षधरले प्रतिनिधिसभामा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् ।

‘आजै केपी शर्मा ओलीले भनेको कुरालाई सबैले सुनेका छन्,’ नेकपा एमालेमा माधवकुमार पक्षधर अर्का एक नेता भन्छन्, ‘उहाँमा अहिले पनि अहं देखिएको छ । अब हामीले चालेका कदम देशको लोकतन्त्र र स्थायी सरकारका लागि हो भन्ने सबैजना स्पष्ट हुन जरुरी छ । त्यसैले उहाँका अभिव्यक्ति र चालचलनले नै अब भोलि के हुन्छ भन्ने निर्धारण गर्छ ।’ यी नेताले पनि नेपाल पक्षले देउवालाई विश्वासको मत दिने संकेत गरेका छन् ।

नेपाल पक्षका सबै सांसद वा यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका सबैले विश्वासको मत दिँदा देउवाले विश्वासको मत पाउने छन् र प्रतिनिधिसभाको बाँकी अवधि उनले सरकार चलाउनेछन् ।

प्रतिक्रिया