नेकपा एमालेको भातृ संगठन युवा संघले यसअघि विघटन गरेको युथ फोर्स नामक संगठन पुनः ब्यूँताएको छ । सर्वोच्च अदालतले संसद पुनः स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै सडकमा उत्रिएको युवासंघले ‘ज्यादतीविरुद्ध लड्न’ भन्दै युथ फोर्स ब्यूँताएको हो ।
पुनः स्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष रहेका क्षितिज थेवे र उपाध्यक्षमा पुष्प श्रेष्ठ चयन भएका छन् । हाल युथफोर्समा ५०१ सदस्यीय केन्द्रीय समिति रहने जनाइएको छ । मंगलबार एक समारोहमाझ युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स ब्यूँतिएको घोषणा गरे । उनले किसानले सिरानीमुनि राखेको खुकरीजस्तै युथ फोर्स रहेको बताउँदै आवश्यक पर्दा निकालेर प्रयोग गरिने बताएका थिए ।
यसअघि तत्कालीन माओवादीको वाईसीएल संगठनसँग जुध्न भनेर एमालेले युथ फोर्स बनाएको थियो । २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा नै युथफोर्स गठन गरेको थियो र पछि वाइसीएल विघटनसँगै यसलाइ पनि निस्क्रिय पारिएको थियो । तर अहिले पुनः सबैखाले ज्यादतीविरुद्ध लड्नका लागि भन्दै युथफोर्स ब्यूँताइएको हो ।