काठमाडौँ ,२३ असार - सत्तारुढ नेकपा एमालेमा देखिएको विवाद समाधान नजिक पुगेको छ। बुधबार दिउँसो सिंहदरबारमा बसेको एमाले कार्यदलको बैठकले विवादलाई समाधान विन्दुमा पुर्याएको हो।
बैठकपछि बाहिरिँदै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले आफूहरु सहमति नजिक पुगेको बताएका छन्। उनीहरुले विवाद समाधान गर्न कार्यदलका दुवैतर्फका नेताहरु सहमत भएको बताएका छन्।
कार्यदलका नेताहरुले सहमतिको विन्दु भेट्टाएपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्ने भएका छन्। उनीहरु दुवै जना नेताले सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि संयुक्त हस्ताक्षर वक्तव्य निकाल्ने तयारी गरिएको छ।
आजको बैठकबाट सहमतिको विन्दु भेटिएपछि दुवै पक्षमा नेताहरुले ओली-नेपाललाई भेट्ने भएका छन्। ओली-नेपाललाई भेटेर सहमतिको मस्यौदा तयार गरेपछि भोलि बिहान ११ बजे बस्ने कार्यदलको बैठक अन्तिम हुने दाबी नेताहरुले गरेका छन्।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले सहमति नजिक पुगेकाले आवश्यकता अनुसार दुवै शीर्ष नेतालाई भेटेर कुरो टुंग्याउने बताएका छन्।
'भोलिसम्ममा एकतालाई अन्तिम रुप दिने गरी हामी सक्रिय छौँ। आजको कार्यदल बैठकले पनि त्यही दिशा समातेको छ', नेम्वाङले भने, 'जरुरी भएको अवस्थामा दुवै शीर्ष नेताहरुसँग हामी छलफल गर्छौँ। एक चरण शीर्ष नेताहरुसँग छलफलका लागि आजको बैठक सकिएको छ। भोलि ११ बजेसम्म सहमति जुट्ने सम्भावना बनेको छ।'
बैठकपछि नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले पनि नेम्वाङकै शैलीमा करिब सहमति जुटेको बताएका छन्। 'हामी करिब करिब निष्कर्षमा पुगिसकेका छौँ', उनले भने, 'एमालेलाई २०७५ जेठ २ मा पुर्याउने कुरामा सहमति भएको छ। अब केही प्राविधिक कुरा बाँकी रहेका छन्।'
विष्टले अब दुई पक्षबीच कुनै किसिमको अविश्वास बाँकी नरहेको पनि बताएका छन्। 'हामीबीच हिजोसम्म रहेको अविश्वास अब करिब सकिएको छ। त्यहीकारण हामीबीच विश्वासको वातावरण बनेर एकता नजिक पुगेका छौँ', उनले भने, 'पार्टी एकता बचाउन हामी गम्भीरतापूर्वक संवादमा छौँ। यसलाई हामी सकारात्मक टुंगोमा पुर्याउँछौँ। हामी केही दिनमै निचोडमा पुग्नेमा विश्वस्त छौँ।'
अर्कातिर ओली पक्षीय कार्यदल सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबारसम्म सबै विवाद मिलाउने गरी काम भइरहेको बताए। 'अहिलेसम्म देखिएका विवादका विषय निरुपणका लागि हामी सहमति नजिक छौँ', उनले भने, 'हामी भोलिसम्म या सकेसम्म चाँडै सहमतिमा पुग्छौँ।'
सोमबार साँझ ओली-नेपाल सहमतिमा ब्यूँताइएको कार्यदलको यो तेस्रो बैठक हो। सोमबार र मंगलबार बसेको बैठकलाई दुवै पक्षले सकारात्मक भने पनि कुनै सहमति जुटेको थिएन। तर आजको बैठकपछि दुवै पक्षले सहमति नजिक पुगेको बताएका छन्।
आजको कार्यदल बैठकले सहमति भेट्टाएपछि अब ओली-नेपालले हस्ताक्षर गर्ने मस्यौदा तयार पारिने भएको छ। मस्यौदा तयार भएपछि दुवै शीर्ष नेतालाई कार्यदल सदस्यहरुले भेट्ने छन्।
ओलीले केन्द्रीय कमिटी बैठक राखेर गत शनिबार तीन दिनभित्र शेरबहादुर देउवालाई दिएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए। तर नेपाल पक्षले हस्ताक्षर फिर्ता लिन पाएको ७२ घण्टे अल्टिमेटम सकिए लगत्तै सोमबार साँझ कार्यदल ब्यूँतिएर पहिलो बैठक बसेको थियो। एमाले मिलाउन गत जेठ २ गते गठित कार्यदल जेठ ८ मा प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय थियो।
तर सोमबारदेखि फेरि कार्यदल सक्रिय भएको हो। आजको बैठकमा बैठकमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल सहभागी थिए।
त्यस्तै नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त, भीम आचार्य सहभागी थिए। १० सदस्यीय कार्यदलको बैठक सोमबारदेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको हो।