सिन्धुली, – सिन्धुली जिल्लामा कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा नौ दिन थप गरिएको छ ।
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले उक्त निषेधाज्ञा असार ३१ गते राती १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । सार्बजनिक यातायात स्वास्थ्य मापदण्ड अप्नाई पूर्ण सिट क्षमताको आधारमा यात्रु बोक्न पाउने गरी जिल्ला भरि मात्र सञ्चालन गर्न दिने अनुमती दिने निर्णय भएको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “सबै निर्णय पुरानोलाई नै निरन्तरता दिईएको छ । यस अघि सार्बजनिक यातायातलाई ५० प्रतिशत यात्रु बोक्न दिने अनुमति दिईएको थियो । अहिले पूर्ण सिट क्षमतामा यात्रु बोक्न दिने निर्णय भएको छ ।”
जिमखाना, शैक्षिक संस्था, ट्युसन सेन्टर, पार्टी प्यालेस र हाटबजार बन्द गरी अरु व्यवसाय बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला गरिएको उहाँले बताउनुभयो । प्रजिअ न्यौपानेका अनुसार यस अघि जारी गरेको निषेधाज्ञा सोमबार राती १२ बजेदेखि सकिदै थियो । जिल्लामा कोरोना संक्रमण दर बढेपछि मानिसको भिडभाड नियन्त्रण गर्न बैशाख २२ गतेदेखि निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । यसअघि आठौं पटकसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यसअघि बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा सात दिन थप्न सिफारिस गरेपछि जिल्ला सुरक्षा समितिको बैठक बसी त्यसलाई अनुमोदन गरेको हो । सार्बनिक यातायातमा यात्रु, सबारी चालक र सहचालकले अनिबार्य मास्क लगाउनु पर्ने जनाईएको छ ।
होटल व्यवसायलाई भने बनाएको परिकार होमडेलिभरी (घरमा पठाउने गरी) गर्ने तर ग्राहक राखेर खुवाउन नपाउने गरी सञ्चालन गर्ने अनुमति दिईएको छ ।
