काठमाडौं, १९ असार - पार्टी एकता बचाउने उपायको खोजी गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्यो ।
२०७५ साल जेठ ३ अगाडि कायम रहेको केन्द्रीय समितिको उक्त बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित सो समूहका नेताहरु उपस्थित भएनन् । वरिष्ठ नेता खनाल भारतमा उपचाररत छन् ।
नेकपा एमाले केन्द्रीय कार्यालयले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको हैसियतमा सबै नेतालाई बैठकमा सहभागी हुन पत्र पठाएको थियो । तर, पत्र प्राप्त भएपनि वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भिम आचार्यसहित केही केन्द्रीय सदस्यहरु बैठकमा उपस्थित भएनन् ।
माधव नेपाल पक्षले बिहिबार राति नै बैठकमा सहभागी नहुने जनाउ दिएसकेको थियो भने सो समूहका केही नेताले फेसबुक र ट्वीटरमार्फत एमालेको बैठक नभई ओली गुटको भेला मात्रै भएकोले बालुवाटार नजाने प्रचारबाजी गरेका थिए । तर, २०७७ पुस ५ गते प्रधानमन्त्रीले पहिलो पटक संसद विघटन गरेपछि पार्टीको कुनै पनि गुटमा नलागेका तर पार्टी एक हुनुपर्छ भन्दै एकता अभियान सुरु गरेका उपाध्यक्ष वामदेव गौतम भने बैठक सुरु हुनुअगाडि नै बालुवाटार छिरेका थिए ।
अचम्मको कुरा त के छ भने वामदेवले बैठकमा जाने कुरा कसैलाई बताएका थिएनन् । बालुवाटारबाट उपमहासचिव विष्णु पौडेल र सुवास नेम्वाङको तारन्तार फोन आउन थालेपछि गौतमले छोराको फेसबुकमार्फत एमाले कार्यालय सचिव शेरबहादुर तामाङको हस्ताक्षर सहितको निम्तो पत्र सार्वजनिक गर्दै बालुवाटार पुगेका थिए । गौतम बालुवाटार छिरेपछि ओली पक्षका नेताहरु भने मुखामुख गर्दै थिए ।
वामदेवको एकता अभियानको विरोध गर्दै आएका ओलीपक्षीय नेताहरुबीच केही समय खैलाबैला समेत भएको स्रोतको दाबी छ । केही नेताले गौतम सुराकी गर्न मात्रै आएको हुनसक्ने आशंका गरेका थिए भने केही नेताले गौतम आउँदा आफ्नो हैसियत गुम्ने हो कि भन्ने चिन्ता गरेका थिए । तर, अध्यक्ष ओली भने गौतमको उपस्थितिमा खुसी देखिन्थे । कोरोनाको कारण झण्डै एक वर्षदेखि कसैसँग हात नमिलाएका अध्यक्ष ओलीले गौतमलाई अगाडि बोलाउनेबित्तिकै हात लम्काएर प्रशन्न मुद्रामा हात मिलाएका थिए ।
यता गौतमको बालुवाटार प्रवेशलाई लिएर माधव नेपाल गुटमा भने भूँइचालो गएको छ । गौतम बालुवाटार गएको कुरा नेपाल पक्षका कतिपय नेताले पत्याएकै थिएनन् । जब प्रधानमन्त्रीसँग हात मिलाएको तस्वीर सार्वजनिक भयो अनि नेपाल पक्षका नेताहरुले एक अर्कालाई टेलिफोन नै गरेर ओलीले बोलाएको बैठकमा जानु वामदेवको बाध्यता हो वा मञ्जुरी भन्नेबारे सोधीखोजी गरेको एमालेका एक नेताले बताए ।
‘उहाँ (वामदेवजी) कसरी बैठकमा पुग्नुभयो अचम्ममा छौं’, माधव पक्षीय एक नेताले भने–‘उहाँको एकता अभियान यहीँसम्मलाई हो भने किन चर्का कुरा गर्नुभयो, बुझ्न सकिएन ।’
त्यस्तै २०७५ जेठ ३ अगाडिको केन्द्रीय समितीको बैठक भनेर आह्वान गरिएको बालुवाटार बैठकमा माओवादी केन्द्रबाट भर्खरै एमाले प्रवेश गरेका नेताहरु कसरी प्रवेश पाए ? भन्ने प्रश्न समेत धेरैले गरेका थिए । तर, उनीहरुलाई महाधिवेशन आयोजक समितीको बैठकले माओवादी र एमाले एकता भई बनेको नेकपामा भएकै हैसियत अनुसार केन्द्रीय कमिटी बैठकमा सहभागी गराईएको एमालेले स्पष्ट गरेको छ । सोही अनुसार रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायत नेता बैठकमा अध्यक्ष ओलीकै लाइनमा वरिष्ठ बनेर बसेका थिए ।
यद्यपि महाधिवेशन आयोजक समितिलाई सर्वोच्च अदालतले समेत मान्यता नदिएको अवस्थामा त्यस कमिटीले गरेको निर्णय पनि मान्य नहुने माधव पक्षको भनाई छ । एमाले केन्द्रिय कमीटी बैठक आज शनिबार दिउसो ३ बजे पुनः बस्ने छ ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबाट निवर्तमान सांसदहरुले हस्ताक्षर फिर्ता नलिएमा र आजको बैठकमा सहभागी नभएमा पार्टी एकताको आधार भत्किन सक्ने चेतावनी ओलीले दिएका छन् ।