काठमाडौं, १८ असार - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा चलिरहेको छ । झरीका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा टेन्ट राखेर बैठक राखिएको छ ।
एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षधर सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । तटस्थ भूमिकामा रहेका उपाध्यक्ष बामदेव गौतम पनि बैठकमा छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा सहभागी भएका छैनन् । उनले आफूपक्षीय स्थायी कमिटी बैठक डाकेर सहभागी नहुने निर्णय लिएका थिए ।
बैठकमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि सहभागी छन् । उनीहरु स्थायी कमिटी सदस्य मनोनित भएका थिए ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा चलिरहेको बैठकमा उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु प्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ्ग सहभागी छन् । एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल पनि सहभागी छन् ।
बैठकमा सहभागी पदाधिकारीहरु
केपी शर्मा ओली, अध्यक्ष
बामदेव गौतम, उपाध्यक्ष
ईश्वर पोखरेल, महासचिव
विष्णुप्रसाद पौडेल, उपमहासचिव
प्रदीप ज्ञवाली, सचिव
पृथ्वी सुब्बा गुरुङ, सचिव
बैठकमा अनुपस्थित पदाधिकारी
माधवकुमार नेपाल, वरिष्ठ नेता
झलनाथ खनाल, वरिष्ठ नेता
भीम रावल, उपाध्यक्ष
युवराज ज्ञवाली, उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
घनश्याम भुसाल, उपमहासचिव
गोकर्ण बिष्ट, सचिव
योगेश भट्टराई, सचिव
भीम आचार्य, सचिव
मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन : वामदेव गौतम
काठमाडौं १८ असार- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका छन् । बालुवाटारमा शुक्रबा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताए ।
‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ । मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नु हुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ,’ गौतमले भने ।
एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए । ‘हिजो केन्द्रीय कमिटी निर्वाचन हुँदा माधव कमरेडसँग जम्मा नौ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ,’ उनले भने । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्न नहुने गौतमको भनाइ थियो ।
‘सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं,’ गौतमले भने । पार्टी एकता पार्टीको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको पक्षमा भएको पनि उनले बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती भएको गौतमको निष्कर्ष छ । ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ,’ उनले भने ।