शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

विद्यालय जान छाडे दलित समुदायका बालबालिका

मंगलवार , आषाढ ८, २०७८

सिन्धुली – गोलन्जोर गाउँपालिका ५ चिसापानीका शान्त विक १५ वर्ष हुनु भयो । यो उहाँको माध्यमिक तहको पढाई पुरा गरिसक्ने उमेर हो । तर उहाँले कक्षा ९ बाटै पढाई छोडेर ४ वर्षदेखि ट्याक्टरमा सामान लोडअन्लोड गर्ने काम गरिरहनु भएको छ ।

साथीले पढाइ छोडेको देखेर आफूले पनि पढ्न छोडि कमाउन तिर लागेको उहाँले बताउनु भयो । “गाउँको मेरो उमेरका सबै साथी काम गरेर पैसा कमाऊ छन् ।” उहाँले भन्नु भयो, “मैले पनि पैसा कमाउन पढाइ छोडी काम गर्ने सुरु गरे ।”ट्याक्टरमा काम गरे बापत उहाँले महिनाको १० हजार रुपैयाँ पारिश्रमिक पाउँनु हुन्छ । “आफूलाई खान लगाउन आफैले कमाएको पैसाले पुग्छ ।” शान्तले भन्नु भयो, “ कमाएको पैसा घर खर्चको लागि पनि दिने गर्छु ।”

उहाँसँगै उहाँका १४ वर्षीय भाइ पुष्कर विक पनि ट्याक्टरमा काम गर्नु हुन्छ । कक्षा ५ मा पढ्दै गरेका पुष्कर पढ्न छोडेर ट्याक्टरमा काम गर्न थाल्नु भयो । आफ्नै दाइले पढ्न छोडेको देखेर आफुलाई पनि पढ्न मन नलागेको उहाँले बताउनु भयो ।

यस्तै उक्त स्थानका प्रदीप विकले पनि कक्षा २ बाटै आफ्नो पढाई छोडनु भयो । सानैमा बुवा बित्नु भएपछि पढ्न मन नलागेको उहाँले सुनाउनु भयो । गाउँकै दाइले चलाउने ट्रकमा सामान लोड गर्ने काम सुरु गरेको उहाँले बताउनु भयो ।

चिसापानीमा १४ घरपरिवारको दलित वस्ति छ । १७ जना भन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन् । अधिकांश बालबालिका विद्यालय जाँदैनन् । आफ्नो बच्चालाई बारम्बार विद्यालय पठाउँदा समेत बिच बाटोबाट फकिने गरेको स्थानीय विष्णु विकले बताउनु भयो । “छोरालाई विद्यालय पठाएको छ । उ बिच बाटो बाट कहाँ जान्छ थाहै हुन्न ।” उहाँले भन्नु भयो “जति सम्झाउँदा पनि मान्दैनन् ।”

गाउँका १० वर्ष माथिका सबै बच्चा गाडी,होटेल लगायत ज्यालामा काम गर्ने हिँड्ने गरेको विष्णुले सुनाइउनु भयो । १० वर्ष भन्दा कम उमेरका बालबालिका विद्यालय सम्म नपुगी बिच बाटोमै खेलेर बस्ने गरेको उहाँले बताउनु भयो । बालबालिकालाई विद्यालय सम्म पुर्‍याउँदा समेत विद्यालय बाट निस्केर हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

स्थानीय तहले दलित समुदायका बालबालिका विद्यालयमा टिकाउन विभिन्न कार्यक्रम गरेको गोलन्जोर गाउँपालिका ५ का वडा अध्यक्ष वुद्धी बहादुर पाल्पालीले बताउनुभयो । दलित समुदाय स्तरमा पुगेर चेतनामलुक कार्यक्रम सञ्चालन गरे पनि बालबालिका पढ्न नजाने गरेको उहाँले बताउनु भयो । पढेर केही हुँदैन भन्ने सोचाइको कारणले पनि बालबालिकाले पढ्न छाडेको वडा अध्यक्ष पाल्पालीको भनाई छ ।

प्रतिक्रिया