शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा कोरोना संक्रमणको कारण थप एक महिलाको मृत्यु

मंगलवार , आषाढ १, २०७८

सिन्धुलीमा कोरोना संक्रमणको कारण आज थप एक महिलाको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका २ का ४४ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । उक्त महिलाको एन्टिजेन विधिबाट स्वाव परिक्षण गर्दा जेठ २१ गते कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका कोरोना पोकल पर्सन सन्तोष माझिले बताउनुभयो ।

कोभिड अस्पतालमा उपचारत महिलाको मृत्यु भएको हो । उक्त महिलालाई कोरोनाको लक्षण संगै फोक्सो सम्बन्धी समस्या रहेको र उपचारको क्रममा ज्यान गएको कोभिड १९ पोकल पर्सन माझीले बताउनु भयो । यो सँगै जिल्लामा कोरोनाको कारण ३२ जनाको मृत्यु भएको छ ।

कोरोना परिक्षण गर्नेको संख्या घट्न थाल्यो: पछिल्लो समय सिन्धुलीमा कोरोना परिक्षण गर्नेको संख्या घट्न थालेको छ । पिसिआर परिक्षण गर्नेको संख्या घटेको कारण पछि संक्रमण पुष्टि हुनेको संख्या पनि कम हुँदै आएको देखिन्छ । जेठ २९ गते ५१ जनाको पिसिआर परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । यो परिक्षणमा गएको नमुनाको ३१ प्रतिशत हो । जेठ ३० गते २१ जनाको परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको थियो । यो परिक्षणमा गएको नमुनाको ९०.४७ प्रतिशत हो । यस्तै सोमबार मात्र ५५ जनाको स्वाव परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो परिक्षणमा गएको नमुनाहरूको ५४.५५ प्रतिशत हो । जिल्लामा कोरोना संक्रमितको संख्या कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका कोरोना पोकल पर्सन सन्तोष माझीले बताउनु भयो । पिसिआर परिक्षण गर्नेको संख्या भने कमि भएको उहाँले बताउनुभयो ।

यस्तै अस्पतामा कोरोना संक्रमितको विरामीको संख्या घटेको जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो । जिल्लाका ग्रामिण भेगका विरामी अस्पताल आउनु पर्ने स्थिति नआए सम्म अस्पताल नआउने गरेको भन्दै उहाँले कोरोना परिक्षण गर्नेको संख्यापनि कमि भएको बताउनुभयो । स्थानिय तह बजेट निर्माणमा व्यस्त भएको र संक्रमितको अवस्थामा चासो नदिएको कारण पिसिआर परिक्षण गर्नेको संख्या घटेको उहाँको भनाई छ । अस्पतालमा हाल लगभग १० जना कोरोनाका जटिल विरामी रहेको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया