शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दीपकराजले जितुसँगको मतभेद स्वीकारे !

मंगलवार , आषाढ १, २०७८

काठमाडौं, – नेपाली फिल्म क्षेत्रमा दबदबा कायम गरेको दीपकराज गिरी र दीपाश्री निरौला समुहको एउटा बलियो खब्बा हुनु हुन्छ, जितु नेपाल । यो समुहको पहिलो फिल्म ‘६ एकान ६’ देखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म उनले अभिनय गर्नु भएको छ । अभिनयसँगै फिल्म निर्माणमा पनि सहकार्य गर्दै आउनु भएका जितु अब भने ‘छक्का पञ्जा’ समुहले निर्माण गर्ने नयाँ फिल्ममा दोहोरिने सम्भावना न्यून छ ।

उहाँले सञ्चालन गर्दै आएको ‘मुन्द्रको कमेडी क्लब’ मा दीपाश्री निरौला अध्यक्षको रुपमा हुनु हुन्थ्यो । ‘महानायक’ विवादपछि उहाँको ठाउँमा करिश्मा मानन्धरलाई राखिएपछि ‘छक्का पञ्जा’ समुहभित्र मतभेद सुरु भएको थियो । शोबाट दीपाश्रीलाई हटाउन जितुकै ठूलो भूमिका रहेको निष्कर्ष समुहको छ । यसैको प्रतिसोध साँध्न दीपक–दीपाले पनि जितुलाई समुहबाटै निकालेको चर्चा छ ।

‘छक्का पञ्जा’ समुहले गत वर्ष होलीको छेकोमा सार्वजनिक गरेको ‘धनियाँ के होली’ गीतमा जितु नअट्नुले पनि फिल्म क्षेत्रको एउटा शक्तिशाली समुह विभाजन भएको चर्चालाई बल मिलेको थियो । दीपकराजले नयाँ प्रोजेक्टमा जितु दोहोरिने सम्भावना न्यून रहेको संकेत गरिसक्नु भएको छ । उता जितु नेपालले पनि एक–दुईवटा प्रोजेक्टमा सहकार्य नहुँदैमा सम्बन्ध नबिग्रने बताउनु भएको छ ।

जितुसँग मतभेद रहेको कुरा मंगलवार उहाँको जन्मदिनको अवसरमा दीपकराजले घुमाउरो शैलीमा स्वीकार गर्नु भएको छ । उहाँले कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोकिए पनि आफूहरुको गति कहिले नरोकिएको र नरोकिने उल्लेख गर्नु भएको छ । इश्वरले सधैं उर्जाशील र शृजनशील बनाइरहनु भन्दै दीपकराजले जितुलाई फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिनु भएको छ ।

दुई दशक अगाडिको चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’ मा छोटो भूमिका निर्वाह गर्दै अभिनय करिअर सुरु गर्नु भएको जितु नेपाललाई ‘जिरे खुर्सानी’ मा निर्वाह गरेको ‘मुन्द्रे’ चरित्रले ख्याती दिलाएको थियो । यो सिरियल बन्द भएपछि उहाँले दीपक–दीपासँग मिलेर फिल्ममा काम गर्दै आउनु भएको थियो । उहाँको कमिक टाइमिङ र सेन्स अफ ह्यूमरलाई दर्शकले निकै रुचाउने गरेका छन् ।

https://www.facebook.com/deepakrajgiri84/posts/4299965953400379

 

सम्बन्धित विषय:

प्रतिक्रिया