शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा चैते धान भित्र्याउन किसानलाई चटारो

मंगलवार , आषाढ १, २०७८

सिन्धुली, – मुलुकभर फैलिएको कोरोना भाइरस रोकथामका लागि निषेधाज्ञा भइरहँदा सिन्धुलीको विभिन्न ठाँउका किसान भने यतिखेर चैते धान भित्र्याउन व्यस्त छन् ।

जिल्लाको कमलाखुँज, मरिण र तीनपाटन क्षेत्रमा किसानहरुले चैते धान खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । सिमसार बढी भएको खेतमा किसानहरुले चैते धानको खेती गर्ने गरेको पाईएको छ ।

सिमसार भएको जमिनमा अरु बाली लगाउदा थोरै उत्पादन हुने र चैते धान खेती गर्दा राम्रो उत्पादन लिन पाईने हुदा उक्त धान रोप्ने गरेको तीनपाटन गाउँपालिका–४ बेल्टार निवासी किसान राजेश पहाडी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले पनि यो बर्ष पाँच कठ्ठा खेतमा चैते धान शेष–४५ जातको धान रोपेको थिए, । अहिले धान काट्न र भित्र्याउन चटारो छ ।”

बर्षे धानको तुलनामा चैते धान धेरै फल्ने र रोग किरा पनि कम लाग्ने उहाँले सुनाउनुभयो । किसान पोख्रेलले भन्नुभयो, “प्रति कठ्ठा तीन मुरीसम्म उत्पादन लिन सकिन्छ । चैते धानमा रोग किरा पनि कम लाग्छ ।” भित्र्याउने बेलामा बर्षादको मौसम सुरु हुने हुदा पानीको डर चाहि हुने उहाँको भनाई छ ।

कमलामाई नगरपालिकाको भिमान् क्षेत्रमा करिब ५० बिगाह खेतमा अहिले चैते धान खेती भएको स्थानीय किसानले बताएका छन् ।

स्थानीयका अनुसार तीनपाटन गाउँपालिकाका केही स्थानमा तीन बाली हुने भएकाले हिउँदे धान र चैते धान किसानले रोप्दै आएका छन् । “गाउँमा चैते धान काट्न सबै किसान व्यस्त छन”्, स्थानीय युवा राजन कार्कीले भन्नुभयो, “चैतमा रोपेको धानलाई जेठ अन्तिमदेखि असार पहिलो साता थन्क्याएर पुनः हिउँदे धान रोप्ने यस क्षेत्रका किसानले गरेका छन् ।”

चैते धान काट्ने काम अन्तिम चरणमा पुगेको स्थानीय पदमबहादुर कार्कीले बताउनुभयो । “अब केही दिनमै धान भित्र्याएर पुनः धान लगाइन्छ, यहाँका खेतमा दुई पटक धान किसानले लगाउँदै आएका छन्,’ उहाँले भन्नुभयो, ‘किसानको जिउने मजबुत आधार नै यही धान बाली हो ।”

किसानहरुले सरकारले बेलैमा मल बिउ उपलब्ध गराएर किसानलाई सघाउनु पर्ने उहाँको भनाई छ । विगतको वर्षझैं यसवर्ष पनि चैते धान राम्रो फलेको किसानको भनाइ छ ।

सिन्धुली जिल्लामा यो बर्ष एक हजार ११ हेक्टर जमिनमा चैते धान खेती भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । उक्त केन्द्रका बागबानी विकास अधिकृत तथा सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जिल्लाको खोंच क्षेत्रमा चैते धान खेती हुने गरेको जानकारी दिनुभयो । जिल्लामा हर्दिनाथ–१, चैते–१, चैते–२ र चैते–४ जातको धान खेती हुने गरेको छ । जिल्लामा चैते धान खेतीको प्रबद्र्धन गर्न कुनै सरकारी कार्याक्रम नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया