सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ६, धुराबजारमा रहेको जगदम्बा डिपो एण्ड सेल्सका प्रबन्धकले आफ्ना ग्राहकसँग दुव्र्यवहार गरेको खुलासा भएको छ । जगदम्बाका सिन्धुली प्रबन्धक उमेश भगतले खुद्रा व्यापारीसँग शुरुवाति दिनमा पारस्परिक सम्बन्ध कायम गर्ने र कारोबार हुदैँ गएपछि गलत नियतका साथ व्यापारीलाई मानसिक तनाब दिने गरेको एक व्यापारीले बताएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित गैरीबजारमा रहेको एक सिमेन्ट तथा रड विक्रेताले शान्ति सुरक्षा पाउँ भन्दै जिल्ला प्रशासनमा भगतलाई विपक्षि बनाएर निवेदन पेश गरेपछि प्रबन्धक भगतको ठगि धन्दाको खुलासा भएको हो । भगतले शुरुवाति कारोबारका दिनहरुमा खुद्रा व्यापारीसँग पारस्परिक सम्बन्ध राख्ने र पछि आर्थिक लेनदेनको मामिलामा फसाउने नियत सहित बार्गेनिङ गर्ने गरेको ती पिडित व्यवासायीले बताए । उनले भने, “हामीले उहाँकै डिपोबाट निर्माणका सामाग्रीहरु नियमित ल्याउने गरेका थियौँ । यो प्रक्रिया धेरै महिनासम्म चलिरहयो । हाम्रो सम्बन्ध राम्रो थियो तर अर्को ठाउँबाट सामान ल्याउन थालेपछि उहाँले बार्गेनिङ गर्न शुरु गर्नुभयो ।”
उनका अनुसार दुई लाख रुपैँयाको उधारो सामान आफूहरुले ल्याएको र उक्त रकम अनुसार चेक दिइएको थियो । तर, अन्य थोक विक्रेताबाट सामान ल्याउन थालेपछि प्रबन्धक भगतले मानसिक तनाब दिन थालेको ती व्यवसायीले बताए । उनले भने, “दुई लाखको चेक दिएपनि हामीले किस्ता किस्तामा उक्त रकम उहाँलाई दिइसकेका छौँ । उक्त रकम प्राप्त भएको भनेर दस्तखत गरेको आर्थिक कारोबारको हिसाबकिताब मसँग सुरक्षित छ । तर, उहाँले उक्त चेक बैंकमा क्लिरेन्सकालागि बुझाउनु भएछ । ”
उक्त कुरा आफूले पत्ता लगाएपछि भगतसँग सम्पर्क गरेर यसो किन गरेको भन्दा आफूलाई ज्यानको खतरा हुन सक्ने भन्दै भगतले चेतावनि दिएको ती व्यवसायीले बताए । हाल, जिल्ला प्रशासनले उक्त निवेदन उपर जिल्ला प्रहरी कार्यालयमा कार्वाहीकालागि सिफारिश गरेको छ ।
कमलामाई नगरपालिका ६ गैरीबजारका ती व्यवसायी मात्र प्रबन्धक भगतबाट पिडित भएका होइनन् । कमलामाई नगरपालिका ५ का एक व्यवसायीलाई पनि भगतले चेकलाई लिएर फसाउने काम गरेको बताएका छन् । उनले भने, “१०/११ लाखको सामाग्री उधारोमा ल्याएका थियौँ । विश्वासकालागि चेक पनि दिएकै हो । किस्ता किस्तामा पैसा बुझाइरहेका छौँ । आफ्नो पैसा पनि अर्को पक्षले नदिएकाले कानुनि प्रक्रिया शुरु गरिसकेको छोँ । त्यो कुरा उहाँलाई थाहा छ । तर पनि उहाँले मानसिक तनाब दिनै रहनुभएको छ ।”
आफूले तिर्न बाँकी चार लाख रहेपनि भगतले उक्त पैसा आफूले नपाएको र ११ लाखकै चेक बैंकमा जम्मा गरि चेक बाउन्सको प्रक्रिया शुरु गर्न लागेको भन्दै मानसिक तनाब दिने गरेका छन् । ती व्यवसायीले आफूसँग भर्पाईको बिल सुरक्षित रहेको सिन्धुली सौगातलाई बताए ।
मरिण गाउँपालिकाका एक व्यापारीसँग पनि उनले त्यस्तै दुव्र्यवहार गरेपछि हातहालाहालको अवस्था भएको ती व्यापारीले बताए । यी सबै विषयमा बुझ्न खोज्दा प्रबन्धक भगतले आफूले उक्त निवेदन उपर छलफल गरी सहायता गर्ने बताउनु भयो ।